नेकपा (एमाले)को ११औँ महाधिवेशन आजदेखि सुरु हुँदैछ। देश गम्भीर सामाजिक, आर्थिक र राजनीतिक संकटको अवस्थामा रहेको बेला एमालेले यो महाधिवेशन आयोजना गर्न लागेको हो। महाधिवेशन आफैंमा उत्सवजस्तै भए पनि हालै जेन–जी आन्दोलनका क्रममा घटेका दुःखद घटनाहरूले यसको सान्दर्भिकता झनै गहिरो बनाएको छ। यस्तो संवेदनशील समयमा एमालेले कस्तो आत्मसमीक्षा गर्छ र कस्तो नेतृत्व रोज्छ भन्ने कुराले पार्टी मात्र होइन, देशको भविष्यलाई समेत असर पार्नेछ।
हाल एमालेको गतिविधि र तामझाम हेर्दा देशले भोगेको पीडा र क्षतिको अनुभूति कतिपयलाई नभएको जस्तो देखिन्छ। सार्वजनिक सम्पत्ति जलेका, मानवीय क्षति भएका र समाज त्रसित भएको अवस्थामा पनि पार्टीभित्र देखिएको उन्माद र आत्मसन्तुष्ट भावले गम्भीर प्रश्न उठाएको छ। यस्तो अवस्थामा जिम्मेवार राजनीतिक दलले आत्मालोचना र संवेदनशीलता देखाउनुपर्ने हो।
यहाँ उठाइएका आलोचना एमाले विरोधका लागि होइनन्। एमाले नेपाली जनतासँग प्रत्यक्ष सरोकार राख्ने सार्वजनिक संस्था भएकाले यसको आलोचना गर्नु नागरिकको अधिकार र दायित्व दुवै हो। जनताको बहुदलीय जनवादको मार्गदर्शनमा चल्ने दाबी गर्ने पार्टीले पटक–पटक बाटो बिराउँदा सचेत गराउनु नै शुभेच्छा हो। उद्देश्य एमाले कमजोर बनाउनु होइन, बरु यसलाई थप जीवन्त, बलियो र परिपक्व बनाउनु हो।
आज नेपालका पुराना राजनीतिक दलहरू विचारभन्दा व्यक्ति केन्द्रित बन्दै गएका छन्। नेपाली कांग्रेस शेरबहादुर देउवामा, एमाले केपी ओलीमा र माओवादी प्रचण्डमा सीमित भएको आम अनुभूति बनेको छ। यस्तो अवस्थामा कार्यकर्ताले ‘यो मेरो पार्टी हो’ भनेर गर्व गर्ने वातावरण हराउँदै गएको छ। नेतृत्वले दललाई निजी कम्पनीझैं चलाउँदा कार्यकर्तामा ऊर्जा, जोश र अपनत्व कमजोर भएको छ।
एमालेको महाधिवेशन प्रतिनिधि चयनमा करिब ४७ प्रतिशत मात्र सहभागिता भएको भन्ने चर्चा आफैंमा चिन्ताजनक हो। यो दलभित्रको उदासीनता र निराशाको संकेत हो। ठूला दलहरू कार्यकर्ताको संख्या र मतको दम्भ देखाएर सत्ता–भागबण्डामा रमाइरहँदा पार्टीको वास्तविक शक्ति खस्कँदै गएको छ।
दलहरू जनतामा गहिरोसँग भिज्न नसक्दा राजनीतिक प्रणालीप्रति नै अविश्वास बढेको छ। आपत् र संकटका बेला राज्य संयन्त्र निष्क्रिय देखिनु, भदौ २३ र २४ का घटनामा जनधनको ठूलो क्षति हुनु, यी सबै दल र नेतृत्वको असफलताका उदाहरण हुन्। लाखौँ कार्यकर्ता भएको दाबी गर्ने दलहरू संकटको घडीमा कहाँ थिए भन्ने प्रश्न आज पनि अनुत्तरित छ।
अब यही सन्दर्भमा एमालेको महाधिवेशन अत्यन्तै निर्णायक बनेको छ। महाधिवेशनका सर्वेसर्वा भनेका प्रतिनिधिहरू नै हुन्। प्रतिनिधिहरूले केवल नेतृत्व चयनमा सीमित नभई देशले भोगेको संकट, जनआक्रोश र आन्दोलनका कारणबारे गम्भीर समीक्षा गर्नुपर्छ। भदौ २३ र २४ का घटनालाई सामान्य उपद्रव वा षड्यन्त्र भनेर मात्र टार्न खोज्नु भविष्यका लागि खतरनाक हुनेछ।
पार्टीले आफ्ना कमजोरी स्वीकार गर्दै जनतासँग आत्मालोचना र सुधारको बाटो रोज्नुपर्छ। अनावश्यक भ्रम फैलाउने, उत्तेजक अभिव्यक्ति दिने र अहंकारपूर्ण शैलीले अब राजनीति चल्दैन। नेतृत्वको बोलीमा जिम्मेवारी, काममा इमान्दारिता र विचारमा स्पष्टता आवश्यक छ।
एमालेले अब नयाँ पुस्ताको चाहना र आक्रोश सम्बोधन गर्ने नेतृत्व रोज्नुपर्छ। चार दशकअघिका विचार र कार्यशैली आजको डिजिटल र एआई युगमा पर्याप्त छैनन्। एउटै अनुहार पटक–पटक दोहोरिँदा जनता र कार्यकर्ता दुवै वाक्क भइसकेका छन्। गुटबन्दी र भागबण्डाले होइन, योग्यता, क्षमता र दृष्टिकोणले पार्टी चल्नुपर्छ।
यस्तो अवस्थामा फेरि केपी ओलीलाई नै अध्यक्ष बनाउनु भनेको पार्टीलाई थप कमजोर र अविश्वसनीय बनाउनु हो। दुई कार्यकाल अध्यक्ष र तीन कार्यकाल प्रधानमन्त्री भइसकेका ओलीबाट अब देशले के नयाँ पाउँछ भन्ने प्रश्न स्वाभाविक छ। उनको पुनरोदयले अहंकार र दम्भलाई मात्र प्रोत्साहन गर्ने जोखिम देखिन्छ।
यो लेख ओलीको योगदान नकार्नका लागि होइन। नेपाली राजनीतिमा उनको भूमिका छ। तर अब एमाले र देश दुवैका लागि नयाँ नेतृत्व अपरिहार्य भइसकेको छ। बारम्बार असफल प्रमाणित नेतृत्वलाई दोहोर्याउनु भनेको भविष्यमा अर्को संकट निम्त्याउनु हो।
निर्णायक भूमिका महाधिवेशन प्रतिनिधिकै हातमा छ। आजको नेतृत्व चयनले भोलिको देश कस्तो बन्छ भन्ने निर्धारण गर्छ। आशा छ, प्रतिनिधिहरूले हल्ला र भिडभन्दा माथि उठेर योग्यता, क्षमता र दूरदृष्टिका आधारमा नेतृत्व छान्नेछन्। यही महाधिवेशनले एमालेभित्र देखिएको विवाद, गुटबन्दी र अविश्वासको अन्त्य गरोस् भन्ने कामना छ।