संखुवासभामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्। मादी नगरपालिका–६ निवासी ४९ वर्षीय प्रेम दोर्ची शेर्पाले आफ्नी ३७ वर्षीया श्रीमती मिना शेर्पाको हत्या गरेको स्वीकारेका छन्।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार मंसिर ९ गते प्रेमले श्रीमती हराएको भन्दै निवेदन दिएका थिए। अनुसन्धानका क्रममा उनी नै शंकास्पद देखिएपछि नियन्त्रणमा लिएर सोधपुछ गर्दा हत्या गरेको खुलेको हो।
प्रहरीका अनुसार मंसिर ९ गते राति करिब साढे १० बजे ओखरेबोटे बजारबाट घर फर्किने क्रममा दुवैबीच विवाद भएको र बाटोमै कुटपिट गरी मिना शेर्पाको हत्या गरिएको थियो। हत्या पछि शवलाई त्रिपालमा बेरेर आफ्नै अलैची बारीमा खाल्डो खनी गाडेको बयान दिएका छन्।
इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको टोलीले सडिसकेको अवस्थामा शव बरामद गरेको छ। घटनासम्बन्धी थप अनुसन्धानका लागि प्रेम दोर्ची शेर्पामाथि कर्तव्य ज्यान कसुरमा जिल्ला अदालतबाट म्याद थप गरिएको प्रहरीले जनाएको छ।