नेकपा एमालेको ११औँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि आइतबार बिहान भृकुटीमण्डपमा पार्टी केन्द्रीय समिति बैठक बसेको छ। बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलप्रति खुलेर असन्तुष्टि व्यक्त गरेका छन्।
आत्मआलोचना र प्रतिवेदनको नाममा आफूमाथि प्रहार गर्न खोजिएको आरोप लगाउँदै ओलीले कटाक्ष गरेका हुन्। उनले अरुको एजेन्डा बोकेर आफूविरुद्ध कारबाहीको माग गरिएको संकेतसमेत गरे।
‘आत्मआलोचनाका नाममा अरुका एजेन्डा बोकेर हिँड्ने प्रवृत्ति देखिएको छ,’ ओलीले बैठकमा भने, ‘तत्कालीन प्रधानमन्त्रीलाई कारबाही गर्नुपर्छ भनेर माग गर्ने को हो ?’ विपक्षी दल र मिडियाले समेत यस्तो माग गर्न नसकेको अवस्थामा आफ्नै नेताहरूले दस्तावेजमार्फत त्यसलाई उठाएको भन्दै ओलीले रोष व्यक्त गरेको बैठकमा सहभागी एक नेताले बताए।
वरिष्ठ उपाध्यक्ष पोखरेलले यसअघि सार्वजनिक रूपमा जेनजी आन्दोलनबारे गठित छानबिन समितिमा ओलीले बयान दिनुपर्ने बताएका थिए। दोषी देखिए कारबाही हुनुपर्ने उनको भनाइ रहँदै आएको छ।
यद्यपि, आन्तरिक असन्तुष्टिका बाबजुद पनि आफू भाग्यमानी नेता भएको दाबी ओलीले बैठकमा गरेका छन्। ‘म भाग्यमानी लिडर हुँ,’ उनले भने, ‘नेतृत्व र कार्यकर्ताबाट मैले असाधारण सहयोग पाएको छु।’
ओलीले महाधिवेशनको प्रक्रिया र कमिटीको हैसियतबारे पनि स्पष्ट पारे। नयाँ नेतृत्व चयन भई शपथग्रहण नभएसम्म सबै पदाधिकारी तथा सदस्यहरू केन्द्रीय कमिटी सदस्यकै हैसियतमा रहने जानकारी उनले दिए।
त्यस्तै, बन्दसत्र सञ्चालनका लागि गठन हुने अध्यक्षमण्डलको अध्यक्षता पार्टी अध्यक्ष स्वयंले गर्ने ओलीले बैठकमा जानकारी गराएका छन्।