Logout

आरजु राणासहित कांग्रेसका शीर्ष नेताहरू पहिलो चरणमै प्रतिनिधि सभा उम्मेदवार सिफारिस

221 Shares

अपराह्नसम्म पार्टीका शीर्ष नेताहरू विभिन्न निर्वाचन क्षेत्रबाट उम्मेदवारका रूपमा सिफारिस भएका छन्।

कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का सुर्खेत–१ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका छन्। उनी २०७९ सालको निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए।

कांग्रेस महामन्त्री गगन थापा धनकुटा र रोल्पाबाट उम्मेदवार सिफारिस भएका छन्। उनी २०७९ को प्रतिनिधि सभा निर्वाचनमा काठमाडौँ–४ बाट निर्वाचित सांसद हुन्। यस पटक पार्टीले उनलाई दुई फरक क्षेत्रबाट पनि सिफारिस गरेको छ।

त्यस्तै, अर्का महामन्त्री विश्वप्रकाश शर्मा झापा–१ बाट उम्मेदवार सिफारिस भएका छन्। उनी पनि अघिल्लो निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए।

कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला मोरङ–६ बाट उम्मेदवार सिफारिस भएका छन्। उनी गत निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित सांसद हुन्। खड्का, थापा, शर्मा र कोइराला सबै सर्वसम्मत रूपमा एकल उम्मेदवार सिफारिस भएका हुन्।

पूर्व परराष्ट्रमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवा कैलाली–५ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार सिफारिस भएकी छन्। सो क्षेत्रमा उनका साथमा नरनारायण शाह (मनु), डिल्लीराज पन्त र नृप वडको नाम पनि सिफारिस गरिएको छ।

पूर्वमन्त्री महेश आचार्य मोरङ–४ बाट उम्मेदवार सिफारिस भएका छन्। उनीसँगै दिलिपकुमार गच्छदार, गुरुराज घिमिरे र विनोद बस्नेतको नाम पनि सिफारिस सूचीमा परेको छ।

अर्का पूर्वमन्त्री मीनेन्द्र रिजाल मोरङ–२ बाट उम्मेदवार सिफारिस भएका छन्। उक्त क्षेत्रमा शिवनारायण सिंह र नारायणी पण्डितको नाम पनि प्रतिनिधि सभा सदस्यका लागि सिफारिस गरिएको छ।

सिन्धुपाल्चोक–१ बाट पूर्वमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत उम्मेदवार सिफारिस भएका छन्। उनी अघिल्लो निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए।

कांग्रेस नेता रमेश रिजाल पर्सा–४ बाट प्रतिनिधि सभा सदस्यका लागि सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस भएका छन्।

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दलाई पनि कांग्रेसले प्रतिनिधि सभा उम्मेदवारका रूपमा सिफारिस गरेको छ। उनी बैतडीबाट उम्मेदवार सिफारिस भएका हुन्।

यसैगरी, पूर्वमन्त्री हृदयराम थामी सुर्खेत–२ बाट उम्मेदवार सिफारिस भएका छन्। सो क्षेत्रमा उपेन्द्र थापा, कमल खत्री, नारायण कोइराला, भीष्मराज हमाल र वसन्ती बस्नेतको नाम पनि सिफारिस गरिएको छ।

कांग्रेसका क्षेत्रीय समितिहरूले उम्मेदवारका नाम जिल्ला कार्यसमितिमा पठाइसकेका छन्। जिल्ला कार्यसमितिले ती नाम प्रदेश कार्यसमितिमा सिफारिस गर्नेछ भने प्रदेशबाट आएका नामहरूमा छलफल गरी पार्टी केन्द्रले अन्तिम रूपमा उम्मेदवार घोषणा गर्नेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार