काठमाडौं । अमेरिकाको भर्जिनियामा नेपाली नर्स ममता काफ्ले बेपत्ता भएको घटनामा उनका श्रीमान् नरेश भट्टले अदालतमा दिएको बयानले नयाँ मोड लिएको छ। भट्टले ममताको शव टुक्रा पारेर फोहोरका झोलामा राखी फालेको स्वीकार गरेका छन्। तर उनले ममताको हत्या गरेको आरोप भने अस्वीकार गर्दै उनले आत्महत्या गरेको दाबी गरेका छन्।
प्रिन्स विलियम काउन्टी सर्किट अदालतमा बयान दिँदै भट्टले सन् २०२४ जुलाई ३० आसपास घरको शयनकक्षमा ममतालाई अचेत अवस्थामा फेला पारेको बताएका छन्। उनलाई बचाउने प्रयास गरे पनि सफल नभएपछि आफू आत्तिएको र प्रहरीलाई खबर नगरेको उनको जिकिर छ।
भट्टका अनुसार त्यसपछि उनले आराको प्रयोग गरेर ममताको शव टुक्रा पारेका थिए। शवका टुक्रा फोहोरका झोलामा राखेर विभिन्न स्थानमा फालेको उनले अदालतमा बताएका छन्। यद्यपि, ममताको शव अहिलेसम्म फेला परेको छैन।
अभियोजन पक्षले भने भट्टको बयानलाई हत्या लुकाउने प्रयासका रूपमा व्याख्या गर्दै उनले योजनाबद्ध रूपमा ममताको हत्या गरेको आरोप लगाएको छ।
अदालतमा प्रस्तुत प्रमाणअनुसार प्रहरीले बरामद गरेको आरामा ममताको डीएनएसँग मेल खाने नमुना फेला परेको थियो। त्यस्तै, घरको शयनकक्षमा रहेको कार्पेटमा पनि डीएनएको प्रमाण भेटिएको अभियोजन पक्षको दाबी छ। घटनासँग सम्बन्धित डिजिटल विवरणलाई समेत अभियोजनले महत्वपूर्ण प्रमाणका रूपमा प्रस्तुत गरेको छ।
अभियोजन पक्षले भट्टले घटनाअघि र पछि ठूलो संख्यामा फोहोरका झोला तथा सरसफाइका सामग्री खरिद गरेको विवरण पनि अदालतमा पेस गरेको छ। ममताको मोबाइल फोन अगस्ट १ देखि नेटवर्कमा नदेखिएको र भट्टको गतिविधिसँग जोडिएका विभिन्न स्थानका विवरणसमेत अनुसन्धानका क्रममा फेला परेको बताइएको छ।
यसअघि ममताका परिवारले उनी घरेलु हिंसाको समस्यामा रहेको र आफू असुरक्षित महसुस गर्ने गरेको बताएका थिए। अदालतमा उनीहरूबीच भएका संवाद तथा ममताको शरीरमा देखिएका चोटपटकका तस्बिरसमेत प्रस्तुत गरिएको छ।
भट्टमाथि प्रथम श्रेणीको हत्या, शवको अपमान तथा शव लुकाएको अभियोग लगाइएको छ। उनले भने सबै अभियोग अस्वीकार गर्दै आएका छन्। प्रतिरक्षा पक्षले अभियोजनले प्रस्तुत गरेका प्रमाण र अनुसन्धान प्रक्रियामाथि प्रश्न उठाउँदै भट्टको पक्षमा जिकिर गरेको छ।
ममताको शव अहिलेसम्म फेला नपरेकाले घटनाको वास्तविक परिस्थितिबारे थप प्रश्नहरू बाँकी छन्। मुद्दामा प्रतिरक्षा पक्षको थप बयान, जवाफी साक्षी र दुवै पक्षको अन्तिम बहसपछि अदालतले निर्णय गर्नेछ।






