रुसले युक्रेनको दक्षिणपूर्वी जापोरिजिया क्षेत्रमा रहेको एक विद्यालय भवनलाई लक्षित गरी शक्तिशाली बम आक्रमण गर्दा कम्तीमा ३३ जनाको मृत्यु भएको छ भने अन्य ५० जना बेपत्ता भएका छन् ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मंगलबार उक्त घटनालाई रुस–युक्रेन युद्धकै सबैभन्दा घातक आक्रमणमध्ये एक भएको बताएका छन् । स्थानीय प्रशासनका अनुसार जापोरिजिया क्षेत्रको कोमिशुभाखा नगरस्थित उक्त विद्यालय भवनमा सर्वसाधारणले आश्रय लिइरहेका थिए । सोही भवनलाई मानवीय सहायता वितरण केन्द्रका रूपमा समेत प्रयोग गरिँदै आएको थियो ।
स्थानीय गभर्नर मिखाइलो सेमिकिनका अनुसार भवनको भूमिगत भागमा युरोपेली संघको आर्थिक सहयोगमा निर्माण गरिएको सुरक्षित आश्रयस्थल थियो । गत वर्ष निर्माण गरिएको उक्त संरचना अधिकांश हवाई आक्रमणको प्रभाव थेग्न सक्ने गरी बनाइएको थियो । तर, शक्तिशाली बमको प्रहारबाट कङ्क्रिट संरचना भत्किएपछि भवनमा आगलागीसमेत भएको थियो ।
युद्धका कारण विद्यालय सञ्चालन हुन नसकेपछि भवनलाई स्थानीय प्रशासनिक कार्यालय तथा मानवीय सहायता वितरण केन्द्रका रूपमा प्रयोग गरिँदै आएको थियो । आक्रमणका बेला राहत सामग्री लिन स्थानीय बासिन्दा त्यहाँ भेला भएका थिए ।
युक्रेनस्थित संयुक्त राष्ट्रसंघीय मानवअधिकार अनुगमन मिसनले मंगलबार जारी गरेको वक्तव्यमा आक्रमण भएको समय र स्थानबारे सर्वसाधारणलाई पूर्वजानकारी गराइएको उल्लेख छ । मिसन प्रमुख ड्यानियल बेलले मानवीय सहायता वितरण भइरहेको जानकारी रुसी सेनालाई भए पनि आक्रमण गरिएको वा आक्रमणअघि आवश्यक सावधानी नअपनाइएको हुन सक्ने बताएकी छन् । उनका अनुसार घटनाले अन्तर्राष्ट्रिय मानवीय कानुनका आधारभूत सिद्धान्त उल्लङ्घन भएको देखाउँछ ।
आक्रमणपछि उद्धारकार्यमा खटिएका सुरक्षाकर्मी र उद्धारकर्मीसमेत मारिएका छन् । पहिलो आक्रमणपछि उद्धारका लागि घटनास्थल पुगेका दुई उद्धारकर्मीको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । युक्रेनी प्रहरीले आफ्ना चार अधिकारी पनि मारिएको जनाएको छ । उनीहरू भूमिगत आश्रयस्थलमा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्न सहयोग गरिरहेका थिए ।
युक्रेनी प्रहरीका अनुसार पहिलो आक्रमणपछि उद्धारका लागि पुगेका तथा भवनबाट बाहिर निस्कने प्रयास गरिरहेका मानिसहरू दोस्रो आक्रमणको चपेटामा परेका थिए । स्थानीय प्रशासनले रुसले आक्रमणमा केएबी–५०० र एफएबी–३००० प्रकारका बम प्रयोग गरेको जनाएको छ ।
विद्यालय भवनमा आक्रमण भएको केही समयपछि रुसले युक्रेनका विभिन्न ऊर्जा पूर्वाधारलाई लक्षित गरी सयौँ ड्रोन तथा दर्जनौँ क्रुज र ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको राष्ट्रपति जेलेन्स्कीले बताएका छन् ।
युक्रेनका ऊर्जा मन्त्री डेनिस श्मिहालका अनुसार तीनवटा ड्रोन खमेल्नित्स्की आणविक विद्युत् केन्द्र सञ्चालनका लागि महत्त्वपूर्ण मानिएको विद्युत् सबस्टेसनलाई लक्षित गरी प्रहार गरिएका थिए । यस्ता आक्रमणले युरोपभरको आणविक सुरक्षामा जोखिम उत्पन्न गर्न सक्ने भन्दै अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) लाई जानकारी गराइएको उनले बताएका छन् ।
जेलेन्स्कीले अमेरिकाले ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न रुसलाई आग्रह गरिरहेको अवस्थामा पनि हमला जारी रहनु चिन्ताजनक भएको बताएका छन् । उनले युक्रेनको हवाई सुरक्षा प्रणाली थप बलियो बनाउन अन्तर्राष्ट्रिय समुदाय, विशेषगरी अमेरिकासँग सहयोग मागेका छन् ।
रुस–युक्रेन युद्धका क्रममा सर्वसाधारण र नागरिक पूर्वाधारमाथि भइरहेका आक्रमणले मानवीय संकट थप गहिरिँदै गएको छ ।





