भोजपुरका गाउँघरमा कुटानी–पिसानीका लागि प्रयोग हुँदै आएको परम्परागत पानीघट्टा क्रमशः हराउँदै गएको छ। संरक्षण अभावका कारण पानीघट्टाजस्ता परम्परागत सीप, साधन र पहिचान ओझेलमा पर्न थालेका स्थानीयवासी बताउँछन्।
कुलोमार्फत ओरालो झारेको पानीले पङ्खा घुमाइ ढुङ्गाको जातोमा अन्न पिस्ने पानीघट्टा विगतमा ग्रामीण क्षेत्रमा कुटानी–पिसानीको मुख्य माध्यम थियो। मकै, गहुँ, कोदो, फापर, जौंलगायतका अन्न पानीघट्टामा सजिलै पिसिन्थे। बस्तीका मानिसहरूको लागि यो सहज, सस्तो र प्राकृतिक विकल्प मानिन्थ्यो। तर, अहिले यसको प्रयोग जीवनशैलीको परिवर्तनसँगै कम हुँदै गएको टेम्केमैयुङ–५ का वृद्ध बेनीबहादुर विष्टको भनाइ छ।
“अहिले पानीघट्टाको चलन हराउँदै गएको छ,” विष्ट भन्छन्, “पहिले टोलभरिका मानिस यहीं कुटानी–पिसानीका लागि आउँथे, अहिले यो परम्पराै पुरानो जस्तै बन्ँदै गएको छ।”
टेम्केमैयुङ–५ का हरिबहादुर लम्सालले पनि आधुनिक प्रविधिको विस्तारसँगै पानीघट्टाको स्थान कम हुँदै गएको बताउँछन्। उनी अझै पनि परम्परा जोगाउने उद्देश्यले पानीघट्टा सञ्चालन गरिरहेका छन्। “पानीघट्टामा पिसिएको अन्न स्वादिलो हुन्छ,” उनी भन्छन्, “आधुनिक मिलभन्दा प्राकृतिक ढंगले पिसिने भएकाले पोषण र स्वाद यथावत् रहन्छ।”
पानी पर्याप्त भएको समयमा एउटा पानीघट्टाले दिनमा ६–८ मुरी अन्न पिस्न सक्ने लम्सालले बताए। तर नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो कम देखिन थालेपछि पानीघट्टाको अस्तित्व थप संकटमा परेको स्थानीयको अनुभव छ।
स्थानीयवासीका अनुसार पानीघट्टाको संरक्षण गर्न अबका पुस्ताले ध्यान नदिए यो मौलिक पहिचान र सीप पूर्णरूपमा हराउने खतरा छ।