काठमाडौं । नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन्। उच्च अदालत जनकपुरको सजाय आदेश कार्यान्वयन गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी टोलीले बिहीबार उनलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार कोइरीलाई महोत्तरीको गौशाला नगरपालिका–५ स्थित एमाले पार्टी कार्यालय अगाडिबाट पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) पञ्चलाल गोलेले पक्राउको पुष्टि गरेका छन्।
डीएसपी गोलेका अनुसार वि.सं. २०७२ भदौ २५ गते ड्युटीमा रहेका सशस्त्र प्रहरी सहायक निरीक्षक थमन बिकको हत्या प्रकरणसँग सम्बन्धित कर्तव्य ज्यान मुद्दामा अदालतको आदेशअनुसार कोइरीलाई पक्राउ गरिएको हो।
यसअघि महोत्तरी जिल्ला अदालतले उक्त मुद्दामा दिएको फैसला उच्च अदालत जनकपुरले उल्ट्याउँदै बुधबार कोइरीलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो। सोही फैसला कार्यान्वयन गर्न प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ परेका कोइरीलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखिएको प्रहरीले जनाएको छ।