ट्रेन्डिङ

Logout

ग्लोबल आइएमई बैंकद्वारा ‘उद्यमशाला’ कार्यक्रम घोषणा, नवउद्यमीबाट आवेदन आह्वान

559 Shares

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशीलताको विकास तथा लघु, साना र मझौला उद्यम (एमएसएमई) प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘ग्लोबल आइएमई उद्यमशाला’ कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ। विश्व लघु, साना तथा मझौला व्यवसाय दिवस २०२६ को अवसरमा आयोजित कार्यक्रममा बैंकले उद्यमशाला कार्यक्रमको औपचारिक शुभारम्भ गर्दै देशभरका नवप्रवर्तनकारी सोच भएका व्यक्ति तथा उद्यमीहरूबाट आवेदन आह्वान गरेको हो।

काठमाडौंको कमलादीस्थित बैंकको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र राज रेग्मीले कार्यक्रमको उद्घाटन गर्दै उद्यमशीलता विकासका लागि बैंकले दीर्घकालीन पहल थालेको बताए। उनका अनुसार लघु, साना तथा मझौला व्यवसायीहरूले सामना गर्ने साझा चुनौती समाधान गर्न यो कार्यक्रम सञ्चालन गरिएको हो।

उनले भने, “विषयविज्ञ, अनुभवी व्यवसायी तथा प्रशिक्षकमार्फत सहभागीहरूलाई व्यावहारिक ज्ञान, सीप तथा व्यवसाय सञ्चालनमा देखिएका समस्याको समाधानका उपाय प्रदान गरिनेछ।”

उद्यमशाला कार्यक्रमअन्तर्गत बैंकले इन्क्युबेसन र एक्सीलेरेसन गरी दुई प्रकारका कार्यक्रम सञ्चालन गर्नेछ।

इन्क्युबेसन कार्यक्रम नवप्रवर्तनकारी व्यावसायिक सोच भएका तर व्यवसाय सुरु गर्ने स्पष्ट मार्गदर्शन आवश्यक रहेका युवालाई लक्षित हुनेछ। यसमार्फत क्षमता अभिवृद्धि, व्यवसायिक सञ्जाल विस्तार तथा अनुभवी व्यक्तिबाट मार्गनिर्देशन उपलब्ध गराइनेछ।

त्यसैगरी, एक्सीलेरेसन कार्यक्रम सञ्चालनमा रहेका तर व्यवसाय विस्तार, स्तरोन्नति वा प्रतिस्पर्धात्मक क्षमता बढाउन चुनौती भोगिरहेका उद्यमीहरूका लागि केन्द्रित हुनेछ। यसअन्तर्गत आधुनिक प्रविधिको प्रयोग, बजारीकरण, क्षमता विकास तथा सम्बन्धित निकायहरूसँग पहुँच विस्तारमा सहजीकरण गरिनेछ।

बैंकका अनुसार कार्यक्रममा सहभागीहरूले व्यवसाय दर्ता, कर तथा कानुनी प्रक्रिया, बजार अध्ययन, उत्पादन व्यवस्थापन, वित्तीय योजना तथा बैंकिङ पहुँचलगायत विषयमा व्यावहारिक ज्ञान प्राप्त गर्ने अवसर पाउनेछन्।

उद्घाटन कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ व्यवस्थापक, साझेदार संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट सम्मानित बैंकका रूपमा परिचित छ। बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’, ‘बेस्ट बैंक नेपाल २०२४, २०२५ र २०२६’, ‘युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५’, ‘बेस्ट बैंक ईएसजी नेपाल २०२४’ तथा ‘बेस्ट एम्प्लोयर’ लगायतका प्रतिष्ठित अवार्ड प्राप्त गरिसकेको छ।

हाल ग्लोबल आइएमई बैंक नेपालका ७७ वटै जिल्लामा सेवा विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक बनेको छ। बैंकले ३४४ शाखा, ३६८ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।

बैंकले बैंकिङ सेवासँगै अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायत विभिन्न मुलुकबाट रेमिट्यान्स सेवा पनि उपलब्ध गराउँदै आएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार