नेपाली राजनीतिमा निष्ठा, त्याग, इमान्दारिता र लोकतान्त्रिक मूल्य–मान्यताको पर्यायका रूपमा परिचित स्वर्गीय नेतृ शैलाजा अचार्य को १७औँ स्मृति दिवसका अवसरमा कृष्णप्रसाद कोइराला सेवा गुठी तथा शैलजा आचार्य स्मृति पोलिटेक्निकद्वारा विविध कार्यक्रम सम्पन्न गरिएको छ।
मोरङको जहदा स्थित शैलाजा पोलिटेक्निकमा बिहीबार आयोजित कार्यक्रममा वक्ताहरूले शैलजा आचार्यले अवलम्बन गर्नुभएको निष्ठा, त्याग र जनमुखी राजनीतिक संस्कार वर्तमान समयमा अझ सान्दर्भिक रहेको उल्लेख गर्दै राजनीतिक दल तथा नेतृत्वले उहाँका आदर्शलाई आत्मसात गर्नुपर्नेमा जोड दिएका थिए।

पोलिटेक्निक सञ्चालक समितिका सदस्य जवाहरलाल मण्डलले शैलजा आचार्यको व्यक्तित्व र विचारबाट प्रेरित भएर राजनीतिमा लागेको बताउँदै उहाँकै दूरदर्शी सोचका कारण स्थापना भएको पोलिटेक्निकले गरिब, विपन्न तथा ग्रामीण क्षेत्रका विद्यार्थीलाई प्राविधिक तथा उच्च शिक्षा हासिल गर्ने अवसर प्रदान गरिरहेको बताए। बजेट अभावका कारण संस्थाको सञ्चालनमा चुनौती देखिन थालेको उल्लेख गर्दै उनले स्थानीय, प्रदेश र संघीय सरकारले संस्थाको दीर्घकालीन व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याए।
कृष्णप्रसाद कोइराला सेवा गुठीका सदस्य गुरुराज घिमिरेले श्रद्धाञ्जली व्यक्त गर्दै शैलजा आचार्यले शिक्षा, सामाजिक विकास तथा लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदानको चर्चा गरे। दुर्गम तथा पिछडिएका क्षेत्रमा प्राविधिक शिक्षाको पहुँच विस्तार गर्ने उहाँको सपना आज मूर्तरूप लिइरहेको उल्लेख गर्दै उनले यस संस्थाको स्थापना क्षेत्रकै गौरवको विषय भएको बताए।
पोलिटेक्निकका प्रचार्य सन्तबहादुर अधिकारीले शैलजा आचार्यको शिक्षा सम्बन्धी दूरदर्शी सोचकै कारण सयौं विद्यार्थी लाभान्वित भएको बताउँदै प्राविधिक शिक्षा विस्तारमा संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको धारणा राख्नुभयाे ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका वरिष्ठ नेता तथा वि.पि काेईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पुर्व उपकुलपति डा. शेखर काेईरालाले शैलजा आचार्य आफ्नी हजुरआमा तथा राजनीतिक प्रेरणाको स्रोत रहेको स्मरण गरे। उनले शैलजा आचार्यले सधैं लोकतन्त्र, सामाजिक न्याय र जनअधिकारका पक्षमा संघर्ष गरेको उल्लेख गर्दै उहाँको योगदान नेपाली राजनीतिमा सदैव स्मरणीय रहने बताए।

डा. कोइरालाले शैलजा आचार्य स्मृति पोलिटेक्निकलाई आगामी दिनमा उच्च शिक्षाको केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै संस्था परिसरमा १०० शय्याको अस्पताल निर्माण गर्ने लक्ष्यसमेत अघि सारे। साथै, निकट भविष्यमै विद्यार्थीहरूसँग प्रत्यक्ष अन्तरक्रिया गरी उनीहरूका समस्या, आवश्यकता र सुझाव संकलन गरेर समाधानका लागि पहल गर्ने बताउनुभयाे।
विशिष्ट अतिथि तथा जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्र प्रसाद साहले शैलजा आचार्यले शिक्षा र सामाजिक रूपान्तरणमा पुर्याएको योगदानको प्रशंसा गर्दै गाउँपालिकाले शिक्षामा निरन्तर लगानी गरिरहेको बताए। उनले आफ्नो चारवर्षे कार्यकालमा शैलजा आचार्य स्मृति पोलिटेक्निकमा अध्ययनरत १११ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको जानकारी दिए। उनका अनुसार हालसम्म ५४ लाख ५० हजार रुपैयाँ छात्रवृत्ति वितरण गरिएको छ।
गाउँपालिकाकी उपाध्यक्ष हन्ना सोरेनले शैलजा आचार्यको जीवन संघर्ष, सरलता र जनप्रतिबद्धताबाट नयाँ पुस्ताले प्रेरणा लिनुपर्ने बताइन्।
कार्यक्रममा पोलिटेक्निककी अध्यक्ष मिता आचार्यले समापन मन्तव्य व्यक्त गर्दै शैलजा आचार्य धैर्यता, ज्ञान, नेतृत्व क्षमता र समाजप्रतिको उत्तरदायित्वको अद्वितीय उदाहरण भएको बताइन्। महिलाको राजनीतिक सहभागिता, लोकतान्त्रिक आन्दोलन तथा शिक्षाको विकासमा उहाँले खेलेको भूमिका आज पनि प्रेरणादायी रहेको उनले उल्लेख गरिन्।
सो अवसरमा छात्रवृत्ति कोषमार्फत पाँच जना उत्कृष्ट विद्यार्थीलाई जनही पाँच हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको थियो।
कार्यक्रममा गुठीका कोषाध्यक्ष मोहलाल महतो, सदस्य विकास पराजुली गिरी, अभिभावक, विद्यार्थी तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
शैलजा आचार्य स्मृति पोलिटेक्निकमा अध्ययनरत छात्रा प्रिसम्सा गिरीले शैलजा आचार्यको नाम र योगदान भावी पुस्ताले पनि सम्मानपूर्वक स्मरण गरिरहने बताउँदै उहाँको नाममा स्थापित संस्थामा अध्ययन गर्न पाउँदा आफूहरू गौरवान्वित भएको धारणा व्यक्त गरिन्।

वि.सं. २००४ सालमा जन्मिएकी शैलजा आचार्य नेपाली कांग्रेसकी प्रभावशाली नेतृ, लोकतन्त्रवादी योद्धा तथा नेपालको पहिलो महिला उपप्रधानमन्त्री थिइन्। प्रजातन्त्र पुनःस्थापनाको आन्दोलनदेखि महिला सशक्तीकरण, सामाजिक न्याय र शिक्षाको विस्तारसम्म उहाँले पुर्याउनुभएको योगदान नेपाली राजनीतिक इतिहासमा सदैव सम्मानका साथ स्मरण गरिनेछ।