ट्रेन्डिङ

Logout

GCC मुलुकमा छोटो अवधिका रोजगारी अवसर खुलाउन सांसद दीपक कुमार साहको पहल

637 Shares

सुनसरी। प्रतिनिधि सभा सदस्य ई. दीपक कुमार साहले खाडी मुलुकहरू (GCC) मा नेपाली नागरिकका लागि उपलब्ध छोटो अवधिका तथा परियोजना-आधारित रोजगारी अवसरहरूलाई व्यवस्थित रूपमा खुला गर्न सरकारसँग पहल गरेका छन्।

श्रम, रोजगारी तथा सामाजिक सुरक्षा मन्त्रीसँग मन्त्रालयमा भएको भेटका क्रममा सांसद साहले GCC मुलुकहरूमा तेल तथा ग्यास, ऊर्जा, जलस्रोत, पूर्वाधार तथा पेट्रोकेमिकल लगायतका क्षेत्रमा केही हप्ता वा केही महिनाका लागि आवश्यक पर्ने दक्ष जनशक्तिको मागलाई मध्यनजर गर्दै नेपाली श्रमिकलाई यस्ता अवसरमा सहभागी गराउने गरी नीतिगत व्यवस्था गर्न आग्रह गरेका हुन्।

FB_IMG_1780538659447.jpg

उनले हाल खाडी मुलुकहरूमा परियोजना-आधारित रोजगारीको ठूलो सम्भावना रहेको उल्लेख गर्दै यस्ता अवसरलाई व्यवस्थित रूपमा खुला गर्न सके नेपाली युवाहरूका लागि रोजगारीका नयाँ ढोका खुल्ने, विप्रेषण (रेमिट्यान्स) वृद्धि हुने तथा अन्तर्राष्ट्रिय अनुभव र सीप हस्तान्तरणमा समेत टेवा पुग्ने बताए।

भेटका क्रममा सांसद साहले GCC मुलुकको वैध Residence Permit, Work Permit वा Golden Visa प्राप्त नेपाली नागरिकहरूले तेस्रो मुलुकबाट यात्रा गर्दा NOC सम्बन्धी विद्यमान व्यवस्थाका कारण झन्झट भोग्नुपरेको विषय पनि उठाएका थिए। उनले यस्तो व्यवस्थाको पुनरावलोकन गरी सहज र व्यवहारिक नीति अवलम्बन गर्न मन्त्रालयसँग अनुरोध गरेका छन्।

सांसद साहले नेपाली श्रमिक, पेशाकर्मी तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको अधिकार, सुविधा र सम्मान सुनिश्चित गर्न आवश्यक नीतिगत सुधारका लागि निरन्तर आवाज उठाइरहने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनको यो पहललाई वैदेशिक रोजगारीको क्षेत्रमा देखिएका व्यवहारिक समस्याको समाधान तथा नेपाली श्रमिकका लागि थप अवसर सिर्जना गर्ने प्रयासका रूपमा हेरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार