विश्वका विभिन्न क्षेत्रमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व नै संकटतर्फ धकेलिँदै गएको भन्दै जर्नालिस्ट्स फर जस्टिस नेपाल (जेजेएन) ले गम्भीर चिन्ता व्यक्त गरेको छ।
संगठनले एक विज्ञप्ति जारी गर्दै जारी द्वन्द्वहरू तत्काल अन्त्य गरी संवाद र वार्तामार्फत समाधान खोज्न अन्तर्राष्ट्रिय समुदायसँग जोडदार आह्वान गरेको छ। जेजेएनका अध्यक्ष टिकाराम खड्का र महासचिव बैकुण्ठ प्रसाद भण्डारी को संयुक्त हस्ताक्षरमा जारी विज्ञप्तिमा युद्धका कारण सर्वसाधारण नागरिकहरू सबैभन्दा बढी प्रभावित भइरहेको उल्लेख गरिएको छ।
विज्ञप्तिमा बालबालिका, महिला, अपाङ्गता भएका व्यक्तिहरू, पत्रकार तथा निहत्था नागरिकहरूमाथि भइरहेका आक्रमणहरू मानवीय मूल्य र अन्तर्राष्ट्रिय मान्यताविपरीत भएको जनाउँदै तत्काल शान्तिपूर्ण समाधान खोज्न आग्रह गरिएको छ।
साथै, विश्व शान्ति स्थापना गर्ने उद्देश्यले स्थापित संयुक्त राष्ट्रसंघ को भूमिका पछिल्लो समय कमजोर बन्दै गएको उल्लेख गर्दै यसको प्रभावकारीता कायम राख्न सबै राष्ट्रहरूलाई जिम्मेवार बन्न जेजेएनले अपिल गरेको छ।
जेजेएनले अन्तर्राष्ट्रिय कानुनको पालना गर्न, एकअर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीति अवलम्बन गर्न तथा आपसी सहकार्य र संवादमार्फत विश्व शान्ति कायम गर्न विश्व समुदायलाई आग्रह गरेको छ।
संगठनले अन्त्यमा युद्धका त्रासदीभन्दा मानवता, एकता र साझा हितका आधारमा अघि बढ्नुपर्नेमा जोड दिँदै दिगो शान्तिका लागि सहकार्य अपरिहार्य रहेको उल्लेख गरेको छ।