Logout

नेपाली उद्यमीका लागि ८ हप्ते निःशुल्क प्रशिक्षणको अवसर

3.9k Shares

नेपाल र भारतबीच नवप्रवर्तन, उद्यमशीलता र प्रविधि सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यसहित इन्डिया–नेपाल स्टार्टअप पार्टनरशिप नेटवर्क (IN-SPAN) नामक नयाँ पहल सुरु गरिएको छ। यो कार्यक्रमले दुबै देशका उद्यमशील युवाहरूलाई एउटै मञ्चमा ल्याउँदै सीप विकास, उद्यम विस्तार र अन्तर्राष्ट्रिय अवसर प्राप्तिका लागि नयाँ ढोका खोलेको छ।

IN-SPAN कार्यक्रमअन्तर्गत नेपाली उद्यमीहरूलाई भारतको प्रतिष्ठित संस्थान आइआईटी मद्रास (IIT Madras) र यसको साझेदार संस्था IIT Madras Pravartak Technologies Foundation मा सञ्चालन हुने ८ हप्ते पूर्ण रूपमा निःशुल्क प्रशिक्षण र नवप्रवर्तन कार्यक्रममा सहभागी हुने अवसर प्रदान गरिएको छ।

कार्यक्रमले सहभागीहरूलाई व्यावहारिक सिकाइ, प्राविधिक सीप विकास, विज्ञहरूको प्रत्यक्ष मार्गदर्शन (Mentorship) र उद्योगसँगको इन्टर्नशिप अवसर उपलब्ध गराउनेछ। IIT मद्रास प्रवर्तकले हालसम्म ४६ स्टार्टअप इन्क्युबेट गरेको छ, जसमा १४ वटा सफलतापूर्वक बजारमा व्यावसायिक रूपमा स्थापित भएका छन्।

यस कार्यक्रमले विशेषगरी रूपान्तरणकारी (Transformative) विचार र नवप्रवर्तनशील सोच भएका नेपाली युवाहरूमाथि केन्द्रित हुने बताइएको छ। सहभागीहरूले प्रशिक्षणमार्फत आफ्नो अवधारणालाई व्यवहारिक व्यवसायमा रूपान्तरण गर्न सहयोग पाउनेछन्।

यसअघि पनि भारतीय दूतावास, काठमाडौंले नेपाल–भारतबीच स्टार्टअप सहकार्यका लागि पहिलो इन्डिया–नेपाल स्टार्टअप कनेक्ट (२४ जनवरी २०२३) र दोस्रो स्टार्टअप कनेक्ट : स्टार्टअप महाकुम्भ Curtain Raiser (७ फेब्रुअरी २०२५) आयोजना गरेको थियो। यी दुवै कार्यक्रमले दुबै देशका उद्यमीहरूबीच सञ्जाल निर्माण र अनुभव साटासाटमा उल्लेखनीय योगदान दिएका थिए।

अब IN-SPAN ले ती अनुभवहरूका आधारमा नयाँ संरचित र दीर्घकालीन सहकार्य प्लेटफर्मको रूपमा कार्य गर्नेछ। कार्यक्रम आयोजकहरूको भनाइमा, “IN-SPAN नेपालका नवप्रवर्तकहरूलाई अन्तर्राष्ट्रिय स्तरको प्रविधि, मार्गदर्शन र लगानी वातावरणमा पहुँच दिलाउने एक ऐतिहासिक अवसर हो।”

भारतीय दूतावासका अनुसार, कार्यक्रमको छनोट प्रक्रिया प्रतिस्पर्धात्मक हुनेछ, जसमा आवेदकहरूको नवप्रवर्तनशीलता, व्यवहारिक सम्भावना र उद्यमशील दृष्टिकोणका आधारमा अन्तर्वार्ता लिइनेछ।

आवेदन मिति १ देखि १५ नोभेम्बर २०२५ सम्म खुला रहनेछ इच्छुक उद्यमीहरूले अनलाइन आवेदन गर्न सक्नेछन् यस कार्यक्रममार्फत नेपालका स्टार्टअपहरूलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बन्ने क्षमता, प्राविधिक दक्षता र लगानी नेटवर्कमा पहुँच प्राप्त हुने विश्वास व्यक्त गरिएको छ।
IN-SPAN लाई नेपाल र भारतबीचको नयाँ उद्यमशील सहकार्यको मोडेलका रूपमा लिइएको छ, जसले भविष्यमा दुवै देशका युवाहरूलाई नवप्रवर्तनमार्फत आर्थिक समृद्धिको यात्रामा एकजुट गराउने अपेक्षा गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार