प्यालेस्टिनी लडाकु समूह हमासद्वारा इजरायलमा अपहृत कञ्चनपुरका विपिन जोशीको शीघ्र रिहाइका लागि सरकारले सम्पूर्ण पहल गरिरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्।
‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत रोजगारीका लागि इजरायल पुगेका जोशी २०८० असोज २० गतेदेखि सम्पर्कविहीन भएका हुन्। सोमबार बिहान सामाजिक सञ्जालमार्फत सन्देश दिँदै प्रधानमन्त्री ओलीले विपिनको सुरक्षित रिहाइ सरकारको प्रमुख जिम्मेवारी रहेको उल्लेख गरे।
प्रधानमन्त्री ओलीले यसअघि इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुसैन खालिलसँग फागुन २८ गते र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग चैत ७ गते फोन संवाद गरी विपिनको विषयमा ध्यानाकर्षण गराएका थिए। साथै, परराष्ट्र मन्त्रालयमार्फत खाडी क्षेत्रका दूतावासहरूसँग निरन्तर सम्पर्क भइरहेको उनले जानकारी दिए।
यसैबीच, विपिनका आमा पद्मा जोशी र बहिनी पुष्पाले आइतबार इजरायली राष्ट्रपति आइज्याक हर्जोगसँग भेट गरी विपिनको शीघ्र रिहाइका लागि पहल गर्न आग्रह गरेका छन्। उनीहरूले तेलअभिभमा आयोजित प्रदर्शनमा समेत सहभागिता जनाउँदै दबाब सिर्जना गरेका थिए।
प्यालेस्टिनी समूह हमासको कब्जामा रहेका भनिएका विपिन जोशीको खोजी तथा सुरक्षित उद्धारका लागि नेपाली समुदाय, परिवार र सरकार निरन्तर पहलमा जुटिरहेका छन्।