ट्रेन्डिङ

Logout

विराटनगरका स्पा सेन्टरमा प्रहरीको कडा एक्सन : ३६ जना नियन्त्रणमा, अवैध गतिविधिमाथि अनुसन्धान तीव्र

3.6k Shares

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरका विभिन्न स्पा तथा मसाज सेन्टरहरूमा प्रहरीले शनिबार साँझ व्यापक ‘स्विप अपरेसन’ सञ्चालन गर्दै ३६ जनालाई नियन्त्रणमा लिएको छ ।

विराटनगर महानगरपालिका–१३, १४ र १५ का विभिन्न स्थानमा सञ्चालित स्पा केन्द्रहरू लक्षित गरी इलाका प्रहरी कार्यालय रानीबाट खटिएको विशेष टोलीले आकस्मिक छापा मारेको हो । अवैध तथा अनैतिक गतिविधि भइरहेको सूचनाका आधारमा लामो समयदेखि निगरानीमा रहेका स्पाहरूमा एकैपटक कारबाही गरिएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा केही स्पा केन्द्रहरू यौनजन्य अवैध गतिविधिको आवरणका रूपमा प्रयोग भइरहेको आशंका गरिएको छ । खुला सीमा क्षेत्रको प्रभावका कारण यस्ता गतिविधि बढेको अनुमान गर्दै नियन्त्रणमा लिइएकामध्ये केही भारतीय नागरिकसमेत रहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

विराटनगर–१४ मा सञ्चालित ‘किपु स्पा’मा कानुनी मापदण्ड उल्लंघन भएको पाइएपछि सञ्चालकसहित कर्मचारीहरू पक्राउ परेका छन् । उक्त स्पा बिना आवश्यक अनुमति र कर्मचारीको परिचयपत्रबिना सञ्चालन भइरहेको भेटिएको छ ।

प्रहरीले सो स्पाका सञ्चालक निलमदेवी शर्मा र भारत, बिहारका राजकुमार चन्द्रवंशीलाई पक्राउ गरेको छ । साथै, कर्मचारीका रूपमा कार्यरत तीर्थमाया भुजेल, रेखा राई र पार्वती नुनियासहित अन्य व्यक्तिहरूलाई पनि नियन्त्रणमा लिइएको छ ।

अन्य स्पा केन्द्रहरूबाट पक्राउ परेकाहरूमाथि सोधपुछ जारी रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मापदण्डविपरीत सञ्चालन हुने संस्थामाथि कडाइ निरन्तर रहने प्रहरीको चेतावनी छ ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार स्पा तथा मसाज सेन्टरहरूमा यौनजन्य गतिविधि भइरहेको आशंकामा यो अपरेसन सञ्चालन गरिएको हो । साथै, लागूऔषध नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण तथा जुवातास नियन्त्रण अभियान पनि सँगसँगै प्रभावकारी रूपमा अगाडि बढाइएको उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार