जलेश्वर, महोत्तरी। स्थानीय तहको निर्वाचनमा दलीयभन्दा सक्षम, योग्य र जनउत्तरदायी व्यक्तिलाई प्राथमिकता दिनुपर्ने बहसलाई अगाडि बढाउने उद्देश्यसहित महोत्तरीको जलेश्वरमा ‘गैरदलीय निर्वाचनको बहस’ कार्यक्रम आयोजना हुने भएको छ।
‘पार्टी होइन, पात्र रोजौँ, झण्डा होइन, एजेण्डा चुनौँ’ भन्ने नारासहित गैरदलीय स्थानीय निर्वाचन अभियानले आगामी २०८३ मंसिर ६ गते आइतबार दिउँसो १ बजे कार्यक्रम आयोजना गर्न लागेको हो।
जलेश्वर उद्योग वाणिज्य संघको सभाहलमा हुने उक्त कार्यक्रममा स्थानीय निर्वाचनमा राजनीतिक दलको प्रभावभन्दा उम्मेदवारको योग्यता, क्षमता, इमानदारी, कार्यदक्षता र विकाससम्बन्धी स्पष्ट एजेण्डालाई प्राथमिकता दिनुपर्ने विषयमा बहस तथा छलफल हुने जनाइएको छ।
स्थानीय तहको नेतृत्व चयन गर्दा दलगत आबद्धताभन्दा व्यक्तिको क्षमता, जनताप्रतिको उत्तरदायित्व र स्थानीय विकासप्रतिको प्रतिबद्धतालाई महत्त्व दिनुपर्ने अवधारणालाई सार्वजनिक बहसमा ल्याउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको पोस्टरमा उल्लेख छ।
स्थानीय शासन प्रणालीलाई थप प्रभावकारी, पारदर्शी र जनमुखी बनाउने विषयमा विचारविमर्श गर्ने अपेक्षासहित आयोजित कार्यक्रममा सरोकारवाला, बुद्धिजीवी, युवा, नागरिक समाजका प्रतिनिधि तथा सर्वसाधारणको सहभागिता रहने अपेक्षा गरिएको छ।
कार्यक्रमको आयोजक गैरदलीय स्थानीय निर्वाचन अभियान, जलेश्वर, महोत्तरी, नेपाल रहेको छ।
कार्यक्रम विवरण:
- मिति : २०८३ मंसिर ६ गते आईतवार
- समय : दिउँसो १ बजे
- स्थान : जलेश्वर उद्योग वाणिज्य संघ, जलेश्वर
- आयोजक : गैरदलीय स्थानीय निर्वाचन अभियान, जलेश्वर, महोत्तरी, नेपाल





