ट्रेन्डिङ

Logout

सांसदको तलबदेखि सुविधा सम्म: कति पाउँछन् प्रतिनिधिसभा सदस्यले मासिक?

2.1k Shares

प्रतिनिधिसभाका सदस्यहरूले पाउने तलब, भत्ता तथा विभिन्न सुविधाबारे जनचासो बढ्दै गएको छ। निर्वाचन सम्पन्न भएसँगै अब प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी कुल २७५ सांसद प्रतिनिधिसभामा रहनेछन्।

नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण चैत १२ गते दिउँसो २ बजे सिंहदरबारस्थित संघीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा हुने तय भएको छ। सोही दिनदेखि सांसदहरूले कानुनअनुसार तलबभत्ता र सुविधा पाउन सुरु गर्नेछन्।

संघीय सांसदहरूको पारिश्रमिक तथा सेवा सुविधा ऐन २०७३ अनुसार सांसदहरूले पहिलो पटक काठमाडौं आउँदा यात्रा खर्च पाउने व्यवस्था छ। तर त्यसका लागि उनीहरूले प्रयोग गरेको जहाज वा बसको टिकट संसद् सचिवालयमा बुझाउनुपर्ने हुन्छ। काठमाडौंमा बसोबासका लागि घर नभएका सांसदलाई मासिक १८ हजार रुपैयाँ घरभाडा उपलब्ध गराइन्छ भने फर्निचर खरिदका लागि एकपटक १५ हजार रुपैयाँ दिइने व्यवस्था छ।

यसैगरी सांसदहरूले मासिक तीन हजार रुपैयाँ सञ्चार खर्च र दुई हजार रुपैयाँ बिजुली तथा पानी खर्च पाउनेछन्। सांसदहरूको मासिक तलब ५५ हजार २३० रुपैयाँ निर्धारण गरिएको छ भने अतिरिक्त रूपमा एक हजार रुपैयाँ विशेष भत्ता पनि उपलब्ध हुन्छ।

संसद् बैठक वा संसदीय समिति बैठक बसेको दिन सांसदहरूले दैनिक एक हजार रुपैयाँ बैठक भत्ता र थप एक हजार रुपैयाँ यातायात खर्च पाउनेछन्। उदाहरणका लागि, महिनामा १५ दिन बैठक बसेमा बैठक र यातायात भत्ताबाट मात्रै ३० हजार रुपैयाँसम्म प्राप्त गर्न सकिन्छ।

त्यसैगरी, सरकारी कामका सिलसिलामा देशभित्र वा विदेश भ्रमण गर्दा दैनिक दुई हजार ५०० रुपैयाँ भ्रमण भत्ता उपलब्ध गराउने व्यवस्था पनि ऐनमा उल्लेख छ।

यदि कुनै सांसदको कार्यकाल पूरा नहुँदै मृत्यु भए, राजीनामा दिए वा प्रतिनिधिसभा विघटन भयो भने त्यस्ता सदस्यलाई कार्यरत अवधिसम्मको पारिश्रमिकबाहेक थप एक महिनाको बराबर रकम प्रदान गरिन्छ। मृत्युको अवस्थामा उक्त रकम सांसदले तोकेको व्यक्ति वा नजिकको हकवालालाई दिने व्यवस्था ऐनमा गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार