Logout

भारतीय विदेश सचिवको नेपाल दौडाहा, शाहको भारत भ्रमण मुख्य चासो

भारतीय विदेश सचिवको नेपाल दौडाहा, शाहको भारत भ्रमण मुख्य चासो

AI सारांश (Quick Summary)

३० सेकेन्डको जानकारी
  • काठमाडौं: नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेला काठमाडौं आइपुगेको भोलिपल्टै भारतीय विदेश सचिव विक्रम मिस्री पनि नेपाल आएका छन्।
  • दुई दिने औपचारिक भ्रमणका लागि मिस्री बुधबार काठमाडौं आइपुगेका हुन्।
  • परराष्ट्र मन्त्रालयका अनुसार सचिव राई र भारतीय विदेश सचिव मिस्रीबीच द्विपक्षीय वार्ता हुनेछ।

काठमाडौं: नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेला काठमाडौं आइपुगेको भोलिपल्टै भारतीय विदेश सचिव विक्रम मिस्री पनि नेपाल आएका छन् । दुई दिने औपचारिक भ्रमणका लागि मिस्री बुधबार काठमाडौं आइपुगेका हुन् ।

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आएका मिस्रीको भ्रमणका क्रममा नेपाल–भारत द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल हुने कार्यक्रम छ ।

परराष्ट्र मन्त्रालयका अनुसार सचिव राई र भारतीय विदेश सचिव मिस्रीबीच द्विपक्षीय वार्ता हुनेछ । भेटमा दुई देशबीचको सम्बन्धका समग्र पक्षको समीक्षा गर्नुका साथै साझा हित र चासोका विषयमा विचार आदानप्रदान गरिनेछ ।

नेपाल बसाइका क्रममा भारतीय विदेश सचिवले नेपालका उच्चस्तरीय अधिकारी तथा विशिष्ट व्यक्तित्वहरूसँग शिष्टाचार भेट गर्ने कार्यक्रमसमेत रहेको छ । उनको भ्रमणले दुई देशबीच नियमित हुँदै आएको उच्चस्तरीय कूटनीतिक संवादलाई निरन्तरता दिने र आपसी साझेदारी थप विस्तार गर्ने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ ।

यस भ्रमणलाई प्रधानमन्त्री बालेन्द्र शाहको सम्भावित भारत भ्रमणसँग पनि जोडेर हेरिएको छ । प्रधानमन्त्री शाह मंसिरको पहिलो साता भारत जाने तयारीमा रहेको चर्चा भए पनि दुवै देशका सरकारले भ्रमणको औपचारिक मिति सार्वजनिक गरेका छैनन् ।

प्रधानमन्त्री शाहको भारत भ्रमणबारे अन्तिम निर्णय द्विपक्षीय छलफल र सहमतिपछि हुने बताइएको छ । भारतीय विदेश सचिव मिस्रीले प्रधानमन्त्री शाहसँगको भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणासमेत हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

मिस्रीको नेपाल भ्रमणअघि मंगलबार मात्रै भारतका नवनियुक्त राजदूत सुधाकर दलेला काठमाडौं आइपुगेका थिए । आफ्नो नयाँ जिम्मेवारी सम्हाल्न नेपाल आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका प्रतिनिधि र भारतीय दूतावासका अधिकारीहरूले स्वागत गरेका थिए ।

सन् १९९३ मा भारतीय विदेश सेवामा प्रवेश गरेका दलेलाले आफ्नो कूटनीतिक यात्रा इजरायलको तेल अभिभबाट सुरु गरेका थिए । त्यसपछि उनले ब्रासिलिया, सिकागो, ढाका, जेनेभा, थिम्पु र वासिङ्टन डीसीस्थित भारतीय कूटनीतिक नियोगमा विभिन्न जिम्मेवारी सम्हाले ।

उनले सन् २०२२ देखि २०२५ सम्म भुटानका लागि भारतीय राजदूतका रूपमा काम गरेका थिए । यसअघि भारतको प्रधानमन्त्री कार्यालयमा निर्देशकको जिम्मेवारीसमेत सम्हालेका दलेलाले दक्षिण एसिया, पूर्वी एसिया, हिन्द–प्रशान्त क्षेत्र, खाडी तथा अफ्रिकी मुलुकसँगको सम्बन्धसम्बन्धी विषय हेरेका थिए ।

नेपालका लागि राजदूत नियुक्त हुनुअघि उनी भारतीय विदेश मन्त्रालयमा सचिव (आर्थिक सम्बन्ध) का रूपमा कार्यरत थिए । उक्त जिम्मेवारीमा रहँदा भारतको आर्थिक कूटनीति, विकास साझेदारी, अफ्रिकासँगको सहकार्य तथा बहुपक्षीय आर्थिक सम्बन्धका विषय हेरेका थिए ।

यसअघिका नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तव आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्किसकेका छन् ।

ताजा अपडेट

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 100% (1)
बिल्कुलै गरिरहेको छैन 0% (0)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 1
ट्रेन्डिङ