2.9k
Shares
महोत्तरीमा जमिनमा गाडिएको अवस्थामा एउटा मोटरसाइकल फेला परेको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार सोनमा गाउँपालिका–६ मगरथानामा शङ्कास्पद रूपमा जमिनमा पुरिएको मोटरसाइकल भेटिएको हो।
स्थानीयवासीले जमिनमा गाडिएको मोटरसाइकल देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचनापछि घटनास्थलमा पुगेको प्रहरी टोलीले खाल्डो खनेर मोटरसाइकल निकाल्दै नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीका अनुसार फेला परेको मोटरसाइकल नेपाली नम्बर ज ८ प ९९७ को सुपर स्प्लेन्डर हो। उक्त मोटरसाइकल हाल प्रहरी चौकी मगरथानामा राखिएको छ।
मोटरसाइकल कसले र किन जमिनमा गाडेर लुकाएको भन्ने विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ। साथै मोटरसाइकलको वास्तविक धनी पत्ता लगाउने र घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।