Logout

देवानगञ्जमा चिनी तस्करी बोकेको मोटरसाइकलको ठक्करबाट बालिका गम्भीर घाइते

3.5k Shares

देवानगञ्ज । सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका वडा नं.–६ अन्तर्गत जिरोगुवा चौकदेखि पूर्व बतराही टोल नजिकै तस्करीका क्रममा भएको सवारी दुर्घटनामा एक बालिका गम्भीर घाइते भएकी छन्।

स्थानीय बिना शाहकी छोरी सृष्टि शाहलाई पश्चिमबाट पूर्वतर्फ भारतबाट चिनी लोड गरी अमाहीबेलहा जाँदै गरेको ३ प ३४४ नम्बर प्लेटको कावासाकी मोटरसाइकलले ठक्कर दिएको हो। तीव्र गतिमा रहेको मोटरसाइकलको ठक्करबाट बालिका सृष्टि शाह र मोटरसाइकल चालक दुबै गम्भीर घाइते भएका छन्।

दुर्घटनामा घाइते दुबै जनालाई उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल लगिएको अस्थायी प्रहरी चौकी जिरोगुवाका प्रमुख मेनेन्द्र कुमार थेवेले जानकारी दिनुभयो। मोटरसाइकल चालक अन्दाजी ३५ वर्षका राजु शाह, घर छिटहा भएको बताइएको छ।

स्थानीयका अनुसार प्रहरी घटनास्थलमा पुग्दा तस्करीको सामान स्थानान्तरण गरिसकिएको थियो। प्रत्यक्षदर्शीहरूले प्रहरी घटनास्थलमा पुग्दा मोटरसाइकलमा चिनी लोड अवस्थामा रहेको बताएका छन्। तर प्रहरीले सञ्चारकर्मीसँग कुरा गर्दै मोटरसाइकलमा चिनी लोड नरहेको दाबी गरेको छ, जसले घटनालाई थप शंकास्पद बनाएको छ।

स्थानीय प्रत्यक्षदर्शी तथा स्रोतहरूका अनुसार सुनसरी जिल्लाका विभिन्न नाकाबाट पछिल्लो समय व्यापक रूपमा तस्करी हुँदै आएको छ। विशेषगरी देवानगञ्ज गाउँपालिका वडा नं.–५ अन्तर्गत साहेवगञ्ज नाकाबाट तस्करी मौलाएको बताइएको छ।

प्रत्यक्षदर्शीका अनुसार बिहीबार दिउँसो करिब ११ बजे साहेवगञ्ज नाका हुँदै तस्करहरूले तीव्र गतिमा मोटरसाइकलमा चिनी लोड गरी अस्थायी प्रहरी चौकी अगाडिबाटै चिमडी, अमाहीबेल्हा, छिटाहा लगायतका बजारतर्फ ओसारपसार गरिरहेका थिए। भिडियोमा समेत प्रहरीकै अगाडि चिनी बोकेको मोटरसाइकल लुकाइएको दृश्य प्रष्ट देखिने स्थानीयको दाबी छ।

यता स्थानीय प्रत्यक्षदर्शीहरूले साहेवगञ्ज इलाका प्रहरी, सशस्त्र प्रहरी बल साहेवगञ्ज तथा अस्थायी प्रहरी चौकी जिरोगुवालाई मासिक रूपमा रकम बुझाएर तस्करी सञ्चालन भइरहेको आरोप लगाएका छन्।

हरिनगर गाउँपालिकाको घुस्की नाका, बिक्रमपुर नाका, शिसुवा नाका, देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्ज नाका र साहेवगञ्ज नाकाबाट प्रहरीकै मिलेमतोमा तस्करी भइरहेको स्थानीयको आरोप छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार