Logout

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव आज विश्वासको मतमा, बलियो अंकगणितसहित सदनमा प्रस्तुति

1.1k Shares

काठमाडौं –

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज (शुक्रबार) प्रदेश सभामा विश्वासको मत लिँदै छन्। मधेश भवनस्थित मुख्यमन्त्री निवासमा बसेको सात दलीय गठबन्धनको बैठकमा भएको सहमतिअनुसार यादवले आज अपराह्न ४ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने भएका हुन्।

नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहेका यादव गत मंसिर १९ गते नेपालको संविधानको धारा १६८(२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनलाई ६ दलका ७७ सांसदको हस्ताक्षरसहित स्पष्ट बहुमत प्राप्त छ। प्रदेश सभाको वर्तमान अंकगणित हेर्दा उनले सहजै दुई तिहाइ समर्थन जुटाउने सम्भावना देखिन्छ।

निवर्तमान मुख्यमन्त्री सरोजकुमार यादवले समेत नयाँ सरकारलाई विश्वासको मत दिने प्रतिबद्धता जनाइसकेका छन्। यससँगै मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रतिपक्षको समेत समर्थन पाउँदै झण्डै ‘सिंगो सदन’को विश्वास हासिल गर्ने सम्भावना बलियो बनेको छ।

१०७ सदस्यीय मधेश प्रदेश सभामा सरकार गठनका लागि कम्तीमा ५४ सांसदको समर्थन आवश्यक पर्छ। तर मुख्यमन्त्री यादवसँग नेपाली कांग्रेस (२२), जनता समाजवादी पार्टी नेपाल (१९), जनमत पार्टी (१३), माओवादी केन्द्र (९), लोकतान्त्रिक समाजवादी पार्टी (९) र एकीकृत समाजवादी (७) गरी सशक्त गठबन्धनको साथ छ।

हाल औपचारिक रूपमा एमाले (२५), नेपाल संघीय समाजवादी पार्टी (१) र राष्ट्रिय प्रजातन्त्र पार्टी (१) सरकार बाहिर छन्। तथापि, बदलिँदो राजनीतिक समीकरणका बीच आजको प्रदेश सभा बैठकले उनीहरूको भूमिकाबारे थप स्पष्टता दिनेछ।

प्रदेश सभा सचिवालयका अनुसार आजको बैठकको कार्यसूचीमा मुख्यमन्त्रीले पेश गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावलाई प्राथमिकतामा राखिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार