Logout

सर्वोच्च जलाउनुअघि सीसीटीभी फुटाइएको खुलासा, पक्राउ परेकाहरूको यस्तो छ पृष्ठभूमि

2.3k Shares

जेनजी प्रदर्शनका क्रममा सर्वोच्च अदालतमा आगजनी गर्ने समूहको पहिचान गर्न प्रहरीले हाल तीव्र अनुसन्धान गरिरहेको छ। भदौ २४ को साँझ सुरु भएको अराजक गतिविधिमा सर्वोच्च अदालतसहित देशभरका विभिन्न सरकारी, निजी भवन तथा प्रहरी कार्यालयहरूमा आगजनी भएको थियो।

त्यसदिन उपत्यकामा सबैभन्दा ठूलो क्षति पुगेको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, काठमाडौँ उपत्यकामा मात्र २२४ भन्दा बढी भवनमा आगजनी भएको पुष्टि गरिएको छ। त्यसमध्ये सर्वोच्च अदालतसहित पाँचवटा अदालत भवन प्रदर्शनकारीले जलाएका थिए। अहिलेसम्म प्रहरीले सर्वोच्च अदालतमा आगजनीमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ।

प्रहरी उपरीक्षक पवन भट्टराईका अनुसार पक्राउ पर्नेहरूमा राजु परियार, कुमार पराजुली, सुशील श्रेष्ठ, ज्योति थापा घले लगायत पाँच जना रहेका छन्। जेनजी आन्दोलनका क्रममा अवाञ्छित गतिविधि बढेपछि प्रहरीले तत्कालै संलग्न समूहमाथि निगरानी र नियन्त्रण सुरु गरेको थियो। सर्वोच्च तथा विशेष अदालतले समेत आगजनीमा संलग्नलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन प्रहरीलाई औपचारिक अनुरोध गरेका थिए।

सर्वोच्च अदालतमा लागेको आगजनीका दृश्य, सामाजिक सञ्जाल तथा सीसीटीभी फुटेजका आधारमा प्रहरीले उनीहरूको पहिचान गरेर पक्राउ गरेको जनाएको छ। संलग्न अन्य व्यक्तिहरूको पनि पहिचान भइसकेको र खोजी जारी रहेको प्रहरीले दाबी गरेको छ।

जेनजी आन्दोलनका समयमा काठमाडौंमा मात्र आगजनी, तोडफोड तथा अन्य आपराधिक उपद्रवसँग सम्बन्धित १०४ उजुरी दर्ता भएका थिए। तीमध्ये व्यक्तिगत तर्फ २२, सरकारी कार्यालय तर्फ ६६ र संस्थागत/व्यापारिक तर्फ १६ उजुरी परेका थिए। अनुसन्धानपछि प्रहरीले एक सयभन्दा बढी मुद्दा दर्ता गरेको र हालसम्म २६७ जनालाई पक्राउ गरिसकेको छ। पक्राउ परेकामध्ये ८७ जना हाजिर जमानीमा छुटे पनि ११३ जना अझै थुनामा छन्। बाँकीलाई अदालतले धरौटी वा पुर्पक्षका लागि थुनामा पठाएको छ। देशभरका प्रदर्शनहरूमा ७६ जनाको ज्यान गएको थियो।


पक्राउ परेकाहरूको पृष्ठभूमि

१) ‘सम्राट’ राजु परियार – १० मुद्दामा संलग्न, हतियार लुटपाटमा दोषी
ललितपुरका राजु परियार पहिले नै प्रहरीको हतियार लुटपाट अभियोगमा पक्राउ परेर थुनामा थिए। उनीविरुद्ध १० वटा विभिन्न आपराधिक मुद्दा दर्ता भएको रेकर्ड भेटिएको छ। प्रदर्शनका क्रममा प्रहरीबाट लुटिएको हतियार बोकेर विभिन्न स्थानमा देखिएको भिडियोका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

२) ‘एक्ले’ कुमार पराजुली – बार म्यानेजर, हतियारसहित सर्वोच्च प्रवेश
ठमेल गल्कोपाखास्थित ‘द कुल बार’ का म्यानेजर एक्ले पराजुली सर्वोच्च अदालतमा आगजनीकै बेला लुटिएको हतियारसहित भित्र गएको दृश्य भिडियोमा पुष्टि भएको प्रहरीले जनाएको छ। काभ्रे मण्डनदेउपुर–९ का पराजुलीमाथि अहिले विस्तृत अनुसन्धान भइरहेको छ।

३) ‘ब्राउन’ शशि श्रेष्ठ – लागूऔषध मुद्दामा पटक–पटक पक्राउ
ललितपुर महालक्ष्मी नगरपालिका–५ का शशि (ब्राउन) श्रेष्ठ पनि यसअघि लागूऔषध मुद्दामा पटक–पटक प्रहरीले पक्राउ गरेको व्यक्ति हुन्। सर्वोच्च आगजनीको दिन उनी पनि प्रहरीको हतियार बोकेर त्यही क्षेत्रमा देखिएको भिडियो प्रमाण फेला परेको छ।

४) ज्योति थापा घले – ‘सर्वोच्च जलायौँ’ भन्दै भिडियोमा, सीसीटीभी तोडफोडको आरोप
झापा भद्रपुरका ज्योति थापा आगजनीपछि उत्तेजित अभिव्यक्ति दिंदै सर्वोच्चबाट बाहिरिएको भिडियो सार्वजनिक भएको थियो। अनुसन्धानका क्रममा उनीहरूकै समूहले पहिले सर्वोच्च अदालतको सीसीटीभी क्यामेरा फुटाएको र त्यसपछि आगजनी सुरु गरेको खुलेको छ।

प्रहरीले सामाजिक सञ्जाल तथा समाचारमा सार्वजनिक भएका फुटेजका आधारमा अन्य संलग्न व्यक्तिहरूलाई पनि खोजी तथा पक्राउ गर्ने क्रम निरन्तर जारी राखिएको जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार