Logout

सभामुखविरुद्धको अविश्वास प्रस्ताव: मधेश प्रदेशसभा आज निर्णायक बैठकमा

2k Shares

मधेश प्रदेशसभाको बैठक आज  दिउँसो १ बजेका लागि बोलाइएको छ। उपसभामुख बबिताकुमारी राउत इसरले बैठक आह्वान गर्नुभएको हो। हाल सभामुख रामचन्द्र मण्डलविरुद्ध दर्ता भएको पदीय आचरणविपरीतको प्रस्तावका कारण प्रदेशसभामा तीव्र राजनीतिक हलचल सिर्जना भएको छ।

उपसभामुख इसरका अनुसार बैठकको मुख्य कार्यसूची सभामुख मण्डलले पदअनुकूल आचरण नगरेको भन्दै दर्ता गरिएको प्रस्तावमाथि छलफल गर्ने रहनेछ। उहाँले प्रदेशसभा सदस्य र सचिवालयका सम्पूर्ण कर्मचारीलाई अनिवार्य रूपमा उपस्थित हुन आग्रह गर्नुभएको छ।

यसअघि मंगलबार ३२ जना प्रदेशसभा सदस्यहरूले उपसभामुखलाई पत्र बुझाउँदै तत्काल बैठक बोलाउन माग गरेका थिए। विपक्षी दलका तर्फबाट माओवादी केन्द्रका संसदीय दलका नेता भरत साहले ३२ सदस्यहरूको हस्ताक्षर नियमावलीका हिसाबले पर्याप्त रहेको जानकारी गराउनुभएको थियो। नियमावलीअनुसार २५ प्रतिशत सदस्यको माग आउँदा बैठक बोलाउन सकिने प्रावधान छ।

यो माग नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, लोसपा, नेकपा एकीकृत समाजवादी, माओवादी केन्द्र लगायत सात दलको संयुक्त पहलमा गरिएको हो।

बैठकअघि बिहान १० बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने उपसभामुख इसरले बताउनुभयो। उहाँका अनुसार अविश्वास प्रस्तावमाथि छलफल अघि बढाउने ७ दिने कानुनी समयसीमा मंसिर ३ मा सकिन लागेकाले उक्त प्रक्रियालाई सहज बनाउन प्रयास भइरहेको छ। तर सभामुख मण्डलले नियमावलीअनुसार अघि बढ्ने तरिकालाई सहज रूपमा स्वीकार नगरेपछि जटिलता उत्पन्न भएको उहाँको भनाइ छ।

यता एमाले प्रदेशसभा सदस्य शारदा थापाले बैठकका बारेमा जानकारी आएको तर आफू उपस्थित नहुने बताउनुभएको छ।

उपसभामुख इसरले प्रदेश सभा सचिवालयका प्रमुख कर्मचारीहरू सम्पर्क विहीन रहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ। उहाँका अनुसार धेरै कर्मचारीहरूले मोबाइल स्विच अफ गरेका छन् र सचिवालय सभामुखको निर्देशनअनुसार मात्र चल्ने प्रवृत्ति स्पष्ट देखिएको छ।

सभामुखका निजी सचिव बलराम मण्डलले भने बैठक आह्वानबारे आफूलाई कुनै जानकारी नआएको बताउँदै सभामुखले औपचारिक रूपमा बैठक बोलाइसक्नुभएको छैन भनेका छन्।

२७ कात्तिकमा पदीय मर्यादाविपरीत गतिविधि गरेको आरोप लगाउँदै सात दलका ६४ जना प्रदेश सांसदहरूले सभामुख मण्डलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए। प्रस्तावमा सभामुखले संसद एकपक्षीय ढङ्गले सञ्चालन गरेको, विपक्षी दलको उपस्थितिबिना बैठक चलाएको, कार्यव्यवस्था परामर्श समितिको निर्णय विपरीत रोस्ट्रम प्रयोग गर्न नदिएको जस्ता आरोप उल्लेख छन्।

प्रस्ताव दर्ता गर्ने क्रममा सांसदहरूसँग हातपात भएको तथा उनीहरूलाई उपसभामुखको कोठामा थुनेर अवरोध गरेको आरोप पनि लगाइएको थियो। परिस्थितिलाई ध्यानमा राख्दै नयाँ दर्ता रजिस्टर तयार गरी प्रस्ताव दर्ता गरिएको थियो।

सभामुख विवादित बनेपछि सात दलीय गठबन्धनका ७४ जना सांसदहरू सहभागी भई प्रदेशसभाको प्राङ्गणमै बसेर वैकल्पिक रूपमा सदन सञ्चालन गरेको घटनाले राजनीतिक तापक्रम झन् बढाएको छ।

बुधबार बस्ने बैठकले मधेश प्रदेशसभाको आगामी शक्ति–सन्तुलन र नेतृत्वको दिशानिर्देशन गर्ने विश्लेषण गरिँदैछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार