Logout

सर्लाहीमा प्रतिनिधिसभा चुनावअघि ५,८१७ नयाँ मतदाता थपिए

2.8k Shares

आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी सर्लाहीमा थप ५,८१७ नयाँ मतदाता नामावलीमा दर्ता भएका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार असोज १० गतेदेखि सुरु भएको नामावली दर्ता अभियानमा व्यापक सहभागिता देखिएको थियो।

जिल्ला निर्वाचन अधिकारी शिवनारायण साहका अनुसार नयाँ दर्ता भएकामध्ये ३,३९० पुरुष र २,४२७ महिला छन्। यससँगै आफ्ना विवरण सच्याउन १,३१७ जनाले उजुरी दिएका छन्, जसको क्रमिक रूपमा कारबाही भइरहेको कार्यालयले जनाएको छ।

नयाँ विवरण सङ्कलनसँगै राष्ट्रिय परिचयपत्रका आधारमा नाम दर्ता गर्नका लागि परेका निवेदन पनि चाँडै स्वीकृत हुने जानकारी सूचना अधिकारी अरविन्दकुमार झाले दिए।

हालसम्म दर्ता भएका मतदातामध्ये ५८.२८ प्रतिशत पुरुष र ४१.७२ प्रतिशत महिला रहेका छन्। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका तयारीस्वरूप आयोगले मतदाता नामावली अद्यावधिक र त्रुटि सच्याउने कार्य सञ्चालन गरेको हो।

नामावली दर्तामा केही स्थानमा भीड बढ्दा सेवा प्रवाहमा सामान्य चुनौती आए पनि कार्यालयसम्म पुगेकालाई सेवा प्रदान गरिएको निर्वाचन अधिकारी साहले बताए। तर जिल्लाका टाढा ग्रामीण क्षेत्रका केही नागरिकले सेवा नपाएको गुनासो गरेका छन्। हरिवन–१, बिलन्दीकी वयोवृद्ध बुद्धिमाया तामाङले आफ्नो नाम दर्ता गराउन नपाएको बताउँदै सरकारकाे टोली गाउँमै पुगेर सेवा दिन सके वयोवृद्धहरू लाभान्वित हुने अपेक्षा व्यक्त गरिन्।

पाँच हजार ८१७ नयाँ मतदाता थपिएसँगै सर्लाही जिल्लामा मतदाताको संख्या ४,९५,८२१ पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार