जेनजी आन्दोलनको क्रममा काठमाडौँस्थित केन्द्रीय कारागारबाट फरार भएका १४ जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३ नाइजेरियन, १ ब्राजिलियनसहित ४ विदेशी र १० नेपाली छन्।
विदेशीमध्ये नाइजेरियाका मो. लामिन्स डाबो (३८), ग्लोरी बडे (३५), ईमानुअल ओवुडा उजेईग्बे (५५) र ब्राजिलका लारेशन ब्रिटो (२५) समावेश छन्। उनीहरू सबै लागुऔषधसम्बन्धी मुद्दामा सजाय भोगिरहेका थिए र नेपाल–भारत सीमा नाकाबाट भाग्ने क्रममा नियन्त्रणमा लिइएको हो।
यस्तै, सिन्धुली र महोत्तरीको जलेश्वर कारागारबाट भागेका १० नेपाली बन्दी पनि पक्राउ परेका छन्। उनीहरू कर्तव्य ज्यान, जबरजस्ती करणी, ज्यान उद्योग तथा लागुऔषधसम्बन्धी मुद्दामा जेलमा रहेका थिए।
घटनाले कारागार सुरक्षा, व्यवस्थापन र सीमा निगरानीमा देखिएको कमजोरीलाई उजागर गरेको भन्दै प्रहरीले थप अनुसन्धान र खोजी कार्य अघि बढाइरहेको छ।