देशभरका कैदीबन्दी भाग्न थालेका घटनाको असर नेपालगन्ज कारागारमा पनि देखिएको छ । कैदीबन्दीले “हामीलाई पनि भाग्न पाउनुपर्छ” भन्दै बिहीबार अपरान्ह कारागारभित्र नाराबाजी गर्दै आगजनी र तोडफोड गरेका हुन् ।
सुरक्षामा खटिएका नेपाली सेनाले लामो समयसम्म सम्झाउने प्रयास गरे पनि कैदीले उल्टै आक्रमण गर्न खोजेपछि सेनाले गोली चलाएको थियो । गोली प्रहारबाट एक कैदीको खुट्टामा चोट लागी, उनलाई एम्बुलेन्समार्फत भेरी अस्पताल लगिएको छ ।
आगजनीपछि आएको दमकलले आगो नियन्त्रणमा ल्याएको छ भने सेनाको नेतृत्वमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको ठूलो संख्यामा फौज कारागार वरपर परिचालन गरिएको छ । कारागारलाई चारैतिरबाट घेरेर अवस्था नियन्त्रणमा लिइए पनि सुरक्षाकर्मीले वातावरण अझै तनावग्रस्त रहेको बताएका छन् ।
यसैबीच, बाँके प्रशासनले सुरक्षाका कारण बिहीबार राति १० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि जिल्लाभर निषेधित क्षेत्र घोषणा गरेको प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।