कैलाली कारागारमा शुक्रबार हिंसात्मक घटना हुँदा एक जनाको मृत्यु र ४९ जना घाइते भएका छन्। घटना भएको ३६ घण्टा बितिसक्दा पनि स्थानीय प्रशासनले कारागारभित्रको स्थिति नियन्त्रणमा लिन सकेको छैन।
कारागारभित्र कैदीबन्दीहरूले ताला लगाएर थुनुवा कक्ष आफ्नो नियन्त्रणमा लिएका छन् र सुरक्षाकर्मी तथा प्रशासनलाई प्रवेश अनुमति नदिईरहेका छन्। यस कारणले घटनाको वास्तविक विवरण सार्वजनिक हुन सकेको छैन।
मानव अधिकार आयोग सुदूरपश्चिम प्रादेशिक कार्यालयका अनुसार कैदीबन्दीहरूले कैलाली प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल र प्रमुख प्रहरी उपरीक्षक बालनरसिंह राणाबाहेक माथिल्लो तहका प्रतिनिधिसँग मात्र भेट गर्ने बताएको छ। उनीहरूले गृह मन्त्रालय र कारागार विभागका प्रतिनिधिसँग मात्रै वार्ता गर्ने इच्छा राखेका छन्।
कैलालीका प्रमुख जिल्ला अधिकारी हमालले अहिलेसम्म सुरक्षाकर्मी कारागारमा प्रवेश गर्न नपाएको बताए र दिउँसो मानव अधिकार आयोगको टोलीसहित निरीक्षणमा जाने तयारी रहेको जानकारी दिए।
कारागारमा कैदीबन्दीहरूले पटक–पटक सुरक्षा माग गर्दै स्थानीय प्रशासनलाई ध्यानाकर्षण गराएका थिए। साउन १४ गते मानव अधिकार आयोगलाई पठाइएको पत्रमा ५९० कैदीबन्दीले आफूहरू असुरक्षित रहेको उल्लेख गर्दै सुरक्षा व्यवस्था सुधार्न अनुरोध गरेका थिए।
तर प्रशासनको गम्भीरता नदेखिएको कारण यो हिंसात्मक घटना उत्पन्न भएको आयोगले ठहर गरेको छ।
शुक्रबार ब्लक ए का कैदीबन्दीले भित्ताफुटाउँदै ब्लक बी का कैदीमाथि आक्रमण गर्दा धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको मृत्यु भयो भने ४९ जना घाइते भए। घाइतेमध्ये केहीलाई काठमाडौं र सेती प्रादेशिक अस्पतालमा विशेष उपचारका लागि पठाइएको छ।
१५० जना क्षमताको कैलाली कारागारमा हाल करिब सात सय कैदीबन्दी राखिएको छ।