देवानगञ्ज। सुनसरीको सिमावर्ती क्षेत्र हरिनगर गाउँपालिका–६, घुस्कीमा गोली प्रहार गरी एक युवतीको हत्या भएको छ। सोमबार बिहान महरम चौकमा बस्दै आएकी १८ वर्षीया अरसी खातुनको गोली हानी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
मृतकका बुबा ४६ वर्षीय गफार मियाँका अनुसार, खातुनको हत्या भारतको पत्रहा पंचायत वडा नं. १६, घुर्ना निवासी सौकात मियाँका छोरा तथा मृतककी दाजुकी श्रीमान् २९ वर्षीय अजाद मियाँ जटले गोली प्रहार गरी गरेका हुन्। घटनापछि आरोपी अजाद मियाँ फरार रहेको प्रहरीले जानकारी दिएको छ।
घटनाको जानकारी पाउने बित्तिकै प्रहरी चौकी घुस्कीहाटबाट प्रहरी नायव निरीक्षक सुरेश यादवको कमाण्डमा प्रहरी टोली खटाइएको थियो। त्यस्तै, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) योगराज खतिवडा नेतृत्वको टोली पनि घटनास्थलमा पुगेको थियो।
घटनास्थलको अनुसन्धानका क्रममा सानो हतियारमा लाग्ने १ थान नफुटेको गोली फेला परेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धान अनुसार, खातुनको टाउकोको बायाँ भागमा गोली लागेको देखिएको छ। शवलाई पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान–घोपा पठाइएको छ।
प्रहरीले घटनाको अनुसन्धान तीव्र बनाएको र फरार अभियुक्तको खोजी कार्य जारी रहेको जनाएको छ। स्थानीयवासी भने घटनाप्रति स्तब्ध छन् र दोषीलाई चाँडोभन्दा चाँडो पक्राउ गरी कारबाही गर्न माग गरिरहेका छन्।