
अध्यागमन विभागले कालोसूचीमा राखेको २४ घण्टाभित्रै भारतमा ९५.५ किलो सुन तस्करीका ‘मोस्ट वान्टेड’ अभियुक्त जागेश्वर शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई भागेको खुलासा भएको छ। काठमाडौंस्थित भारतीय दूतावासको अनुरोधमा १९ मार्च २०२५ मा जागेश्वर र उनका छोरा आशिफ शाहलाई ‘नेपाली पोर्ट’ सफ्टवेयरमा कालोसूचीमा राखिएको थियो। विमानस्थल अध्यागमनलाई पत्र पनि पठाइएको थियो। तर, भोलिपल्टै जागेश्वर दुबई उडेको पुष्टि भएको छ। आशिफ भने पत्र पठाउनुअघि नै काठमाडौंबाट उडिसकेका थिए।
“पर्याप्त आधार हुँदा पनि जागेश्वर सजिलै भाग्न सफल भए,” एक अनुसन्धान अधिकारीले भने, “विमानस्थल अध्यागमन कर्मचारीको नियतमा शंका छ, यसको गहिरो छानबिन हुनेछ।” भारतमा अपराध गरेर भाग्नेहरूले नेपाललाई ट्रान्जिट बनाउने गरेको छ। विचौलियाको सहयोगमा उनीहरू त्रिभुवन विमानस्थलबाट तेस्रो मुलुक पुग्छन्। भारतीय सुरक्षा निकायले यस्ता अपराधमा सीमा निगरानी बढाउँछन्।
“नेपालका अपराधी भारत भाग्छन्, भारतले नियन्त्रणमा सहयोग गर्छ,” एक प्रहरी निरीक्षकले भने, “बदलामा नेपालले भारतीय अपराधीलाई पक्राउ गर्न सहयोग गर्छ।” तर, यो घटनामा उच्च कर्मचारीको मिलेमतोमा तस्कर भागेको आशंकाले भारतीय अधिकारी असन्तुष्ट छन्। सहसचिव तीर्थ भट्टराई विमानस्थल अध्यागमन प्रमुख हुँदा कर्मचारीको संलग्नतामा तस्कर भागेको भन्दै भारतीय दूतावासले आपत्ति जनाएको छ।
गृह प्रशासनले अनुप न्यौपानेको नेतृत्वमा छानबिन समिति बनायो। समितिले कालोसूचीको सूचना स्क्रीनमा नदेखिएको भन्दै ‘प्राविधिक त्रुटि’ को निष्कर्ष निकाल्यो। तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप अनुसन्धान आवश्यक रहेको बताएको छ। “सीसीटीभीको अभाव र पपअप नदेखिएको पुष्टि नहुँदा प्राविधिक त्रुटि मात्र मान्न सकिँदैन,” एक अधिकारीले भने।