काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले नेपाल शिक्षक महासङ्घसँगको वार्ता सकारात्मक दिशामा अघि बढेको बताउनुभएको छ। मङ्गलबार रातिको वार्तापछि मन्त्रालयमा सञ्चारकर्मीलाई जानकारी दिँदै उहाँले सम्भव भएसम्म छिटो वार्ता टुङ्ग्याउने प्रयास भइरहेको उल्लेख गर्नुभयो।
वार्तामा शिक्षकहरू सकारात्मक रूपमा प्रस्तुत भएको जनाइएको छ। मन्त्री पन्त र महासङ्घका पदाधिकारीबीच मङ्गलबार राति ८ बजेदेखि साढे १० बजेसम्म वार्ता भएको थियो। वार्तामा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी हुनुहुन्थ्यो।
महासङ्घको तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदीको नेतृत्वमा शिक्षकहरूको टोली वार्तामा सहभागी भएको थियो। सोमबार भएको वार्ता पनि सकारात्मक भएको आधारमा मङ्गलबार पुनः छलफल भएको हो।
शिक्षक सङ्घ–सङ्गठनहरूले विद्यालय शिक्षा ऐनलगायत विभिन्न माग राखी गत चैत २० गतेदेखि आन्दोलन गर्दै आएका छन्। यसका कारण देशभरका सामुदायिक विद्यालयहरूमा शैक्षिक सत्र २०८२ को सुरुदेखि नै पठनपाठन प्रभावित भएको छ।