सुनसरी । देवानगञ्ज गाउँपालिका वडा नम्बर २ स्थित यादव टोलदेखि पूर्व रा.सी जाने बाटोमा सोमबार साँझ गोलीकाण्ड भएको छ। घटनामा तीन जना घाइते भएका छन्, जसमा एकको अवस्था गम्भीर रहेको छ।
घाइतेहरूमा देवानगञ्ज गाउँपालिका वडा नम्बर -१ बस्ने बद्री यादवका छोरा अन्दाजी २४ वर्षीय रविन्द्र यादव, सोही वडाका विनोद यादवका छोरा १८ वर्षीय पिन्टु यादव, र वडा नम्बर ७ बस्ने अगरजित मेहताका छोरा अन्दाजी २१ वर्षीय शिवकुमार मेहता रहेका छन्। पेटमा गोली लागेको शिवकुमारको अवस्था गम्भीर रहेकाले उनलाई तत्काल उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल पठाइएको छ।
घटनामा संलग्न रहेको आरोप तीन जनामाथि लागेको छ कामेश्वर यादव, उनका छोरा जयकृष्ण यादव, र भारतीय नागरिक राजा पासवान। ती तीनै जना गोली प्रहार गरेपछि घटनास्थलबाट फरार भएको बताइएको छ।
घटनाको कारण पूर्ण रूपमा खुल्न नसकेको भए पनि पुरानो रिसइबीका कारण योजनाबद्ध तरिकाले आक्रमण गरिएको हुन सक्ने अनुमान गरिएको छ। प्रहरी स्रोतका अनुसार फरार अभियुक्तहरूको खोजी तीव्र पारिएको छ।
घाइते रविन्द्र यादवका अनुसार, केही समय पहिले भारतीय नागरिक राजा पासवानसँग उनीहरूले करिब १ लाख रुपैयाँ बराबरको काम गरेका थिए। पैसा माग्दा विवाद चर्किएको र त्यसकै कारण आफूहरूमाथि गोली प्रहार भएको उनको भनाइ छ।
यस घटनाबारे जिल्ला प्रहरी कार्यालयसँग सम्पर्क गर्न खोज्दा कुनै प्रतिक्रिया प्राप्त हुन सकेको छैन। अनुसन्धान जारी छ।