Logout

‘चौथो नेपाल ग्रामीण चलचित्र महोत्सव’ रसुवामा

6.4k Shares

नेपालको ग्रामीण क्षेत्रमा चलचित्र कलाको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुने "नेपाल ग्रामीण चलचित्र महोत्सव" (NERUFF) को चौथो संस्करण यसपटक रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिकामा आयोजना हुने भएको छ। आयोजक संस्था सेलिब्रेटी नेपालले बिहीबार रसुवा जिल्लाको सदरमुकाम धुन्चेमा आयोजित पत्रकार सम्मेलनमा वैशाख ४ देखि ६ गतेसम्म यो महोत्सव सम्पन्न गरिने जानकारी दिएको हो।  

महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले बताए अनुसार, यस महोत्सवमा ग्रामीण परिवेशमा निर्मित नेपाली फिचर फिल्म, शर्ट फिल्म, डकुमेन्ट्री तथा सांस्कृतिक चलचित्रहरू प्रदर्शन गरिनेछ। साथै, नेपाली चलचित्र पर्यटन र ग्रामीण कथाहरूलाई केन्द्रित गरी विभिन्न संवाद तथा कार्यक्रमहरू पनि आयोजना गरिनेछ।  

महोत्सव संयोजक तथा निर्देशक कमल एक्चै मगरले बताए अनुसार, यसपटक करिब २ दर्जन चलचित्र प्रदर्शन गरिनेछ, जसमा स्थानीय दर्शकहरूले चलचित्र निर्माता तथा कलाकारहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने अवसर पाउनेछन्। रसुवा जिल्लामा औपचारिक चलचित्र हल नभएकोले यस महोत्सवले स्थानीय दर्शकहरूलाई गुणस्तरीय चलचित्र हेर्ने मौका दिने आयोजकको विश्वास छ।  

यस महोत्सवमा करिब ४ हजार दर्शक उपस्थित हुने अपेक्षा गरिएको छ भने चलचित्र विकास बोर्डले पनि यसलाई सहयोग गरेको छ। यसै बीच, गोसाईकुण्ड गाउँपालिकाले वार्षिक रूपमा आयोजना गरिँदै आएको चौथो पालिका कप भलिबल प्रतियोगिता पनि वैशाख २ देखि ६ गतेसम्म सम्पन्न हुनेछ।  

आयोजकहरूको दाबी अनुसार, यस्ता कार्यक्रमहरूले रसुवा जिल्लाको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्नेछ र जिल्लालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत गर्नेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार