
सुनसरी । सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका–१ मा प्रहरीले ठूलो मात्रामा लागुऔषध गाँजा बरामद गरेको छ। भारतीय सीमा क्षेत्रतर्फ लैजान खोजिएको १४ बोरा गाँजा नियन्त्रणमा लिएको हो। विशेष सूचनाका आधारमा गरिएको कारबाहीमा प्रहरीले करिब ३५० किलो गाँजा बरामद गरेको जनाएको छ।
गाँजा ओसारपसारका लागि प्रयोग गरिएको हरियाणा नम्बर प्लेट (HR. 70E.9502) भएको स्कारपियो गाडी चिमडी क्षेत्रबाट तीव्र गतिमा भाग्ने क्रममा चिमडी स्कुल अगाडि रहेको प्रहरी ब्यारेकमा ठोक्किएर अनियन्त्रित हुन पुगेको थियो। शंका लागेपछि चिमडी इलाका प्रहरी कार्यालयले गाडीलाई पछ्याउँदै करिब २ किलोमिटर पर नियन्त्रणमा लिएको थियो।
देवानगञ्ज इलाका प्रहरी कार्यालय, हरिनगरा प्रहरी कार्यालय, चिमडी इलाका प्रहरी कार्यालय, घुस्की इलाका प्रहरी कार्यालय, र जिल्ला प्रहरी कार्यालय सुनसरीको संयुक्त टोलीले उक्त कारबाही सफलतापूर्वक सम्पन्न गरेको हो।
इलाका प्रहरी चिमडीका इन्चार्जका अनुसार, तीव्र गतिमा ब्यारेकमा ठोक्किएपछि शंका लागेर प्रहरीले गाडीलाई पछ्याएको थियो। करिब ३ किलोमिटर पर गाडी खाल्डोमा पुगेपछि गाँजा तस्करहरू भाग्न सफल भएका थिए। अनुसन्धानका क्रममा प्रहरीले एउटा बजाजको टु–ट्विन्टी मोटरसाइकल पनि बरामद गरेको छ, जसलाई स्काउटिङका लागि प्रयोग गरिँदै आएको प्रहरी निरीक्षक कमल विष्टले जानकारी दिनुभयाे।
यस घटनाले नेपाल–भारत सीमाक्षेत्र हुँदै लागुऔषध ओसारपसार अझै सक्रिय रहेको संकेत गरेको छ। सुरक्षाकर्मीहरूले सीमा क्षेत्रमा गस्ती र निगरानी थप कडा पार्नुपर्ने विज्ञहरूले बताउँदै आएका छन्। पछिल्लो समय सुनसरीका विभिन्न क्षेत्रमा लागुऔषध कारोबारका घटनाहरू बढ्दै गएकाले प्रहरीले सतर्कता अपनाइरहेको जनाएको छ।
तस्करहरूले नयाँ–नयाँ तरिका अपनाइरहेका कारण सुरक्षा संयन्त्रलाई अझै प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको प्रहरी स्रोतले जनाएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिनुभयाे ।