
सुनसरी । छैठौं बर्जु महोत्सव अब माघ ९ गतेसम्मका लागि लम्ब्याइएको छ। आयोजक समितिका अनुसार यसअघि माघ ७ गतेसम्म मात्र सञ्चालन हुने भनिएको महोत्सव थप दुई दिनका लागि बढाइएको हो।
आयोजक समितिका अध्यक्ष श्रवण चौधरीले दिएको जानकारी अनुसार, भोजपुरी सुपरस्टार दिनेश लाल यादव 'निरहुवा' र नृत्यमा निलम गिरी महोत्सवको अन्तिम दिन माघ ९ गते प्रस्तुत हुने पक्का भएको छ। यसअघि माघ ७ गते भोजपुरी जगतकी चर्चित नायिका अमरपाली दुबे आउने तय भए पनि उनको कार्यक्रम रद्द भएपछि निरहुवा आउने कार्यक्रम तय भएको हो।
महोत्सवको अन्तिम दिन माघ ९ गतेको प्रवेश शुल्क रु ३०० निर्धारण गरिएको छ। महोत्सवले स्थानीय उत्पादन, संस्कृति, र मनोरञ्जनलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ कार्यक्रमको अवधि थपिएको आयोजकले जनाएको छ।
छैठौं बर्जु महोत्सवले स्थानीयस्तरमा सांस्कृतिक विविधता र राष्ट्रिय स्तरका कलाकारहरूको प्रस्तुति मार्फत उत्साह थप्ने अपेक्षा गरिएको छ।
काे हुन दिनेशलाल यादव 'निरहुवा' ?
दिनेश लाल यादव, जसलाई 'निरहुवा' नामले विश्वभर चिनिन्छ, भोजपुरी फिल्म उद्योगका सर्वाधिक चर्चित अभिनेता, गायक र निर्माता हुन्। उनी भारतको उत्तर प्रदेशमा जन्मिएका हुन्। गायनबाट आफ्नो करियर सुरु गरेका निरहुवा भोजपुरी फिल्म क्षेत्रमा प्रवेश गरेपछि 'निरहुवा रिक्शावाला' जस्ता हिट फिल्महरूले उनलाई ठूलो लोकप्रियता दिलाएको हो।
उनी भोजपुरी फिल्म क्षेत्रका 'सुपरस्टार' मात्र होइनन्, बलियो सांगीतिक पृष्ठभूमि भएका व्यक्तित्व पनि हुन्। निरहुवाका चलचित्रहरूमा सामाजिक मुद्दाहरू, हास्य र प्रेम कथाहरूलाई प्राथमिकता दिइन्छ। उनका लोकप्रिय फिल्महरूमा 'निरहुवा हिन्दुस्तानी', 'निरहुवा चलल लन्डन', र 'निरहुवा रिक्शावाला २' पर्छन्।