Logout

सर्लाही–४ मा गगन थापा र रामेश्वर राय यादवबीच कडा चुनावी भिडन्त

3.4k Shares

सर्लाही । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा सर्लाही निर्वाचन क्षेत्र नं. ४ को चुनावी माहोल तातिँदै गएको छ। यसपटक नेपाली कांग्रेसका केन्द्रीय सभापति गगन थापा र जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता रामेश्वर राय यादवबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने भएपछि यो क्षेत्र राजनीतिक चासोको केन्द्रमा परेको छ।

राष्ट्रिय राजनीतिमा भावी प्रधानमन्त्रीका रूपमा चर्चामा रहेका गगन थापा र सर्लाहीमा लामो समयदेखि बलियो जनाधार बनाउँदै आएका रामेश्वर राय यादवबीचको प्रतिस्पर्धालाई ‘राष्ट्रिय छवि बनाम स्थानीय पकड’ को टक्करका रूपमा हेरिएको छ।

रामेश्वर राय यादवको बलियो स्थानीय आधार

जसपा नेपालबाट उम्मेदवारी दिएका रामेश्वर राय यादव सर्लाही–४ का स्थापित राजनीतिक व्यक्तित्व मानिन्छन्। यसअघि सद्भावना पार्टी हुँदै यस क्षेत्रमा संगठन विस्तार गरेका यादवको स्थानीय तहमा कार्यकर्ता सञ्जाल र मतदातासँग प्रत्यक्ष पहुँच बलियो रहेको स्थानीय विश्लेषकहरूको भनाइ छ।

पछिल्ला स्थानीय तह निर्वाचनका नतिजाले पनि यस क्षेत्रमा जसपा नेपाल र त्यससँग नजिक रहेको राजनीतिक धार मजबुत रहेको संकेत गर्छ। गोडैता नगरपालिकामा जसपा नेपालबाट देवेन्द्र यादव नगरप्रमुखमा निर्वाचित भएका थिए। बलरा नगरपालिकामा नगरप्रमुख पदमा पराजित भए पनि अभय सिंहले उल्लेख्य मत ल्याएका थिए।

यस्तै, विष्णु गाउँपालिकामा जसपा समर्थित उम्मेदवार अध्यक्ष पदमा थोरै मतान्तरले पराजित भएका थिए भने बसबरिया गाउँपालिकामा रामसिहासन यादव अध्यक्षमा विजयी भएका छन्।

जातीय समीकरण निर्णायक

सर्लाही–४ को चुनावी गणितमा जातीय समीकरणलाई महत्वपूर्ण मानिएको छ। उपलब्ध तथ्याङ्कअनुसार यस क्षेत्रमा करिब १४ हजार यादव, १५ हजार कुशवाहा, १२ हजार सहनी–माझी, ८ हजार दलित, करिब ८ हजार ब्राह्मण, ४ हजार राजपूत–भूमिहार र करिब १ हजार मुस्लिम मतदाता रहेका छन्।

राजनीतिक विश्लेषकहरूका अनुसार रामेश्वर राय यादवको यादव, कुशवाहा र सहनी समुदायमा राम्रो प्रभाव छ। यी समुदायको मत निर्णायक हुने भएकाले जातीय समीकरणका आधारमा यादवलाई तुलनात्मक रूपमा बलियो उम्मेदवारका रूपमा हेरिएको छ।

गगन थापाका लागि चुनौतीपूर्ण चुनाव

नेपाली कांग्रेसका सभापति गगन थापाको उम्मेदवारीले सर्लाही–४ लाई राष्ट्रिय राजनीतिक बहसको केन्द्रमा ल्याएको छ। मधेसको मतबाट राष्ट्रिय नेतृत्वमा पुग्ने सन्देशसहित मैदानमा उत्रिएका थापाका लागि यो निर्वाचन राजनीतिक अवसरसँगै चुनौतीपूर्ण पनि देखिन्छ।

२०७९ सालको निर्वाचनमा यही क्षेत्रबाट स्वतन्त्र उम्मेदवार अमरेश सिंह विजयी भएको इतिहास र हाल रामेश्वर राय यादवजस्तो बलियो स्थानीय जनाधार भएका उम्मेदवारसँगको प्रतिस्पर्धाले थापालाई सहज स्थिति दिएको छैन।

व्यक्ति र जनाधार मुख्य कारक

सर्लाही–४ मा मतदाताबीच बहस दुई धारमा देखिन्छ। एकथरी मतदाता राष्ट्रिय स्तरको नेतृत्व जिताएर पठाउनुपर्ने पक्षमा छन् भने अर्काथरी स्थानीय समस्या बुझ्ने र स्थानीयमै सक्रिय नेता रोज्नुपर्ने तर्क गर्दै आएका छन्।

स्थानीय विश्लेषकहरूका अनुसार यस निर्वाचनमा पार्टीको झण्डाभन्दा पनि उम्मेदवारको व्यक्ति, जनाधार र सामाजिक सम्बन्ध निर्णायक हुने सम्भावना बढी छ। यही कारण यो प्रतिस्पर्धालाई सर्लाही–४ मात्र होइन, राष्ट्रिय राजनीतिलाई सन्देश दिने चुनावका रूपमा हेरिएको छ।

स्थानीय तहका नतिजा, जातीय समीकरण र स्थापित जनाधारलाई हेर्दा रामेश्वर राय यादवलाई तुलनात्मक रूपमा बलियो मानिए पनि गगन थापाको राष्ट्रिय छवि र कांग्रेसको सांगठनिक शक्तिले नतिजा उल्टिन सक्छ कि सक्दैन भन्ने विषयले चुनावी चासो बढाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार