काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउँदै सरकारले निरन्तर मेहनतका साथ काम गरिरहेको स्पष्ट पार्नुभएको छ ।
‘डिशहोम सातौँ बाह्रखरी कथा लेखन प्रतियोगिता, २०८२’ का विजेता लेखकहरूलाई पुरस्कार वितरण गर्दै प्रधानमन्त्री कार्कीले निर्वाचन नै वर्तमान सरकारको मुख्य प्राथमिकता भएको भन्दै यसमा सरकारको *अर्जुनदृष्टि* रहेको उल्लेख गर्नुभयो । सुशासन स्थापना गर्न पनि सरकार अहोरात्र सक्रिय रहेको उहाँको भनाइ थियो ।
प्रधानमन्त्री कार्कीका अनुसार वर्तमान सरकारमाथि चौतर्फी आलोचना र दबाब रहेको भए पनि “अचानोमा परेझैँ” कठिन परिस्थितिमा निरन्तर काम भइरहेको छ । सबै अपेक्षाहरू एकैचोटि पूरा गर्न नसकिए पनि निरन्तर प्रगतिको बाटोमा सरकार अघि बढिरहेको उहाँको भनाइ थियो ।
उहाँले राजनीतिक दल र जेनजी (जेनेरेसन जेड) दुबैबाट दोहोरो दबाब आएको पनि बताउनुभयो । यद्यपि सरकार छोडेर हिँड्ने अवस्था नरहेको र देशलाई बङ्गलादेशजस्तो अवस्थाबाट जोगाउन निरन्तर प्रयास गरिरहेको प्रधानमन्त्री कार्कीले उल्लेख गर्नुभयो ।
विदेशबाट दिनदिनै नेपाली नागरिक डिपोर्ट भइरहेका प्रसङ्ग उठाउँदै उहाँले अब देशभित्रै अवसर बनाउनुको विकल्प नभएको स्पष्ट पार्नुभयो ।
फरक प्रसङ्गमा, जेनजी सहिदका परिवारसँग आ–आफ्नै कथा रहेको उल्लेख गर्दै उहाँले साहित्यकारहरूलाई सरकारको कथासमेत लेखनमा समेटिदिन आग्रह गर्नुभयो ।