राजधानीमा आयोजित एक विशेष कार्यक्रमका बीच पारिवारिक कथामा आधारित फिल्म ‘आबाट आमा’ को मर्मस्पर्शी गीत ‘सृष्टिकै पहिलो नाम’ सार्वजनिक गरिएको छ।
चन्द्र पन्तको निर्देशनमा बनेको यस गीतको भिडियोमा विपना थापा, पल शाह, प्रदीप रावत, सिम्रन पन्त, उषा उप्रेती, साइग्रेस पोखरेल र गजित विष्टलगायत कलाकारहरूको अभिनय देख्न सकिन्छ। भिडियोले परदेशिएको छोराको पीडा र आमाको निस्वार्थ माया–ममताको भावनात्मक कथा प्रस्तुत गरेको छ।
गीतमा बाबुल गिरीको शब्द र संगीत रहेको छ भने रवि ओडको स्वरले गीतलाई अझ भावुक बनाएको छ। गीतको भावअनुसार तयार गरिएको भिडियोले सन्तानप्रतिको माया, स्नेह र ममताको गहिरो कथा प्रभावकारी रूपमा उतारेको छ।
गीत सार्वजनिक कार्यक्रममा निर्देशक चन्द्र पन्तले ‘आबाट आमा’ आफ्नो ड्रिम प्रोजेक्ट रहेको बताए। उनले भने, “यो मेरो सपनाको परियोजना हो, जसलाई हामीले अत्यन्तै सफलतापूर्वक पूरा गरेका छौँ।”
निर्देशक पन्तकै कथा र पटकथा रहेको यस फिल्ममा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित विष्ट र वेगम नेपालीलगायत कलाकारले मुख्य भूमिकामा अभिनय गरेका छन्।
आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यस फिल्मका निर्माता कृष्णप्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुवप्रसाद न्यौपाने र क्षितिज ढुंगाना रहेका छन्। फिल्मको लेखन अभिमन्यू निरवी, संवाद अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले गरेका छन्। संगीत कोसिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको रहेको छ भने कोरियोग्राफी गम्भीर विष्ट र दिलीप ओखेडाले गरेका छन्। छायांकन नवराज उप्रेतीले गरेका हुन्।
फिल्म ‘आबाट आमा’ आगामी माघ १६ गते देशभर प्रदर्शनमा आउने तयारीमा छ।