Logout

मधेस प्रदेशमा सभामुख चयन प्रक्रिया अघि बढ्दै, आज प्रदेशसभा बैठक बस्दै

1.2k Shares

मधेस प्रदेश सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। प्रदेश सभामा लामो समयदेखि रिक्त रहेको सभामुख पदको चयन प्रक्रिया अघि बढाउन बैठक आह्वान गरिएको हो।

प्रदेशसभा बैठकअघि उपसभामुख बबिता राउत ईशरको कार्यकक्षमा सर्वदलीय बैठक आयोजना गरिनेछ। सो बैठकमा सभामुख निर्वाचन प्रक्रियासम्बन्धी सहमति जुटाउने प्रयास गरिने जनाइएको छ।

प्रदेशसभा सचिवालयका अनुसार बैठकबाट सभामुख निर्वाचन प्रक्रिया अनुमोदन गरिनेछ र त्यसपछि निर्वाचनको कार्यतालिका सार्वजनिक गरिनेछ।

गत मंसिर ३ गते तत्कालीन सभामुख रामचन्द्र मण्डलले पदअनुकूल आचरण नगरेको आरोपसहितको प्रस्ताव दुई तिहाई बहुमतले पारित भएपछि सभामुख पद रिक्त रहँदै आएको छ।

हाल मधेस प्रदेश सरकारमा सात दल सहभागी छन्। सरकारको नेतृत्व नेपाली कांग्रेसले गरिरहेको छ भने गठबन्धनभित्र दोस्रो ठूलो दल जनता समाजवादी पार्टी (जसपा) नेपालले सभामुख पदमा आफ्नो दाबी प्रस्तुत गर्दै आएको छ।

यता मन्त्रीपरिषद् विस्तारपछि सत्तारूढ सात दलबीच मतभेद देखिन थालेको छ। जनमत पार्टीले उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय नपाएको भन्दै असन्तुष्टि व्यक्त गरेको छ। पार्टीका उपाध्यक्ष वसन्त कुशवाहाले सामाजिक सञ्जालमार्फत आपत्ति जनाउँदै आवश्यकता परे सरकारबाट बाहिरिने चेतावनीसमेत दिएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार