Logout

नेपाल–भारत संयुक्त टोलीद्वारा गण्डक क्षेत्र अनुगमन

3.8k Shares

पश्चिम नवलपरासी, मङ्सिर ४ – पश्चिम नवलपरासीको गण्डक कमाण्ड क्षेत्रमा यस वर्ष सञ्चालन हुने प्रमुख सिँचाइ तथा नदी नियन्त्रण कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न नेपाल र भारतका प्राविधिक टोलीले संयुक्त रूपमा स्थलगत अनुगमन गरेका छन्।

नेपाल गण्डक पश्चिमी नहर सिँचाइ प्रणाली व्यवस्थापन कार्यालय सेमरीका प्रमुख तिलकराम बुढाथोकी का अनुसार, अनुगमन टोलीले विशेषगरी यस वर्ष भारतीय जलसंसाधन विभागद्वारा सञ्चालन हुने कामको कार्यान्वयन र योजनाबारे गहिरो छलफल गरेको थियो।

नेपाल गण्डक पश्चिमी नहर सिँचाइ प्रणाली व्यवस्थापन कार्यालयका अनुसार, अनुगमन टोलीले पश्चिम नवलपरासीको गण्डक कमाण्ड क्षेत्रदेखि भारतीय सीमासम्मका विभिन्न क्षेत्रहरूको निरीक्षण गरेको छ।

यस वर्ष, भारतीय जलसंसाधन विभागद्वारा गण्डक सिँचाइ क्षेत्रको बी ग्याप र ए ग्यापको बाँध तथा सडकको चौडाइ र उचाइ वृद्धि, गण्डक नदीको पानीको बहाव नियन्त्रण गर्ने संरचनाहरूको व्यवस्थापन, र नदी नियन्त्रण संरचनाहरूको पुनर्संरचना जस्ता कार्यहरू सञ्चालन हुनेछन्।

नेपाली टोलीको नेतृत्व जलस्रोत तथा सिँचाइ विभाग, बजेट तथा कार्यक्रम महाशाखाका उपमहानिर्देशक कुसाङ शेर्पा र कार्यालय प्रमुख तिलकराम बुढाथोकी ले गरेका थिए। भारतको तर्फबाट उत्तर प्रदेश र बिहारका सिँचाइ प्राविधिकहरू सहभागी थिए।

दुई दिनसम्म चलेको अनुगमन र छलफलपछि, दुबै देशका प्राविधिक टोलीले यस वर्षका कार्यक्रमहरू सहकार्य र समन्वयमा प्रभावकारी रूपमा सम्पन्न गर्ने निष्कर्षमा पुगे। यसले गण्डक सिँचित क्षेत्रका लागि नेपाल–भारतबीचको सहयोगलाई अझ मजबुत बनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार