Logout

मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त

2.9k Shares

मधेस प्रदेशसभाले सभामुख रामचन्द्र मण्डलमाथिको अविश्वास प्रस्ताव बुधबार सर्वसम्मत रूपमा पारित गर्दै उनलाई पदमुक्त गरेको छ। प्रदेशसभा बैठकमा प्रस्ताव निर्णयार्थ प्रस्तुत हुँदा पक्षमा ७६ मत परे भने विपक्षमा एक मत पनि परेन।

यसअघि नेकपा (एमाले) की एक मात्र प्रदेशसभा सदस्य शारदा थापा बैठक मान्य नहुने भन्दै बाहिरिएकी थिइन्। उनी बाहिरिएपछि १० मिनेट स्थगित भएको बैठक पुनः बसेको थियो, जहाँ उपसभामुख बबिता राउत इशरले प्रस्ताव मतदानका लागि प्रस्तुत गरेकी थिइन्। मतदानमा सात दलका सबै सदस्य सहभागी भए पनि मुख्यमन्त्री र सभामुख दुवैको दल एमालेका सांसद अनुपस्थित थिए।

उपसभामुख इशरले अविश्वास प्रस्ताव पारित भएको घोषणा गर्दै मण्डल स्वतः पदमुक्त भएको बताइन्। प्रस्तावक नेपाली कांग्रेसका प्रमुख सचेतक कुमरकान्त झा रहे भने समर्थकका रूपमा लोसपाका सांसद उपेन्द्र महतो, जवाहरलाल कुशवाहा र राजकुमार गुप्ता थिए।

कात्तिक २७ गते सात दलका ६४ सांसदले सभामुखमाथि अविश्वास प्रस्ताव दर्ता गराएका थिए। सोही दिन सभामुख मण्डल र प्रदेशसभा सदस्यबीच तनाबपूर्ण स्थिति सिर्जना भएको थियो।

प्रस्ताव दर्ताको केही समयमा नै सभामुख मण्डलले लगातार १० बैठक अनुपस्थित रहे भन्दै नागरिक उन्मुक्तिका उर्मिलादेवी सिंह तथा जसपाका मनीष सुमन, सिंहासन सा कलवार, सञ्जयकुमार यादव र सारदा शंकर प्रसाद कलवारलाई पदमुक्त गरेका थिए। अदालतले भने उनीहरूको पुनर्बहाली आदेश गरिसकेको छ।

प्रदेशसभा सचिवालयले जारी गरेको सूचनामा प्रस्ताव ७६ मतसहित दुईतिहाइभन्दा बढी समर्थन प्राप्त भएकाले संविधान र कार्यसञ्चालन नियमावलीअनुसार सभामुख मण्डल स्वतः पदमुक्त भएको उल्लेख छ।

सभामुखमाथि उठेका आरोपहरू

अविश्वास प्रस्तावमाथिको छलफलमा लोसपाका सांसद उपेन्द्र महतोले तत्कालीन सभामुख मण्डलले प्रदेशसभामा ‘आतंक’ सिर्जना गरेको दाबी गरे। कर्मचारी कुटपिट, सांसदसँग दुर्व्यवहार, कार्यसूची उल्ट्याएर आफ्ना मनपर्ने सांसदलाई बोल्ने मौका दिने, मुख्यमन्त्रीलाई रोस्ट्रम प्रयोग गर्न रोक्नेजस्ता व्यवहार गरेको आरोप उनले लगाए।

महतोले अघिल्लो सचिव मनोज गिरीलाई मरणासन्न हुने गरी कुटपिट गरिएको घटना स्मरण गर्दै मण्डल सभामुख भएभन्दा बढी कुनै पार्टीका कार्यकर्ता जस्तै व्यवहार गरेको टिप्पणी गरे। उनले तिनका कार्यालयमा ‘गुन्डा’ भर्ना गरिएको आरोप पनि लगाए।

त्यसैगरी, उनले बजेट पाससम्बन्धी बार्गेनिङ गरेको, आफ्नो क्षेत्रलाई बजेट नदिए पास हुन नदिने चेतावनी दिएको आरोप पनि जोडिदिए।

रामचन्द्र मण्डल २०७९ माघ ३ मा नेकपा (एमाले)को तर्फबाट सभामुख निर्वाचित भएका थिए। ७४ मत पाउँदै उनी सभामुख बनेका थिए भने २९ मत विपक्षमा परेको थियो। उनी धनुषा–१(ख) बाट दोस्रोपटक निर्वाचित प्रदेशसभा सदस्य हुन्।

तत्कालीन सत्ता गठबन्धनका एमाले, जसपा, जनमत, लोसपा, माओवादी केन्द्र, राप्रपा, नेपाल संघीय समाजवादी तथा ४ स्वतन्त्र सांसदको समर्थन मण्डललाई थियो। विपक्षमा नेपाली कांग्रेस र एकीकृत समाजवादीका सांसद थिए, जहाँ कांग्रेसका जंगीलाल राय सभामुखका प्रत्यासी थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार