बाराको परवानीपुरमा आयोजित एमाले सम्बद्ध युवा संघको मधेस प्रदेशस्तरीय जनजागरण सभामा सहभागी हुन आएका नेताहरूलाई रोक्ने प्रयास भएपछि सिमरा बुधबार दिनभर तनावग्रस्त बन्यो। कार्यक्रमका लागि काठमाडौँबाट महासचिव शंकर पोखरेल र युवा नेता महेश बस्नेत सिमरा उत्रन लाग्दा जेन–जी समूहले विरोध जनाउँदै सिमरा चोकमा भेला भएको थियो। यसैबीच, स्वागतका लागि विमानस्थलतर्फ जाँदै गरेका एमाले समर्थक र जेन–जी युवाबीच चर्काचर्की हुँदै झडप भयो।
द्वन्द्व बढ्दै जाँदा जेन–जी बाराका संयोजक सम्राट उपाध्याय घाइते भए। आक्रोशित समूहले सिमरा विमानस्थलको गेट तोडफोड गर्दै कार्यालयमा ढुंगा र बोतल प्रहार गरेपछि सुरक्षाकर्मीले अश्रुग्यास प्रहार गरी भीड तितरबितर पारे। त्यसपछि सिमरा चोकमा टायर बालेर प्रदर्शन जारी रह्यो।
स्थिति नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय बाराले दिउँसो १२:३० बजेबाट बेलुकी ८:३० बजेपछि कर्फ्यु आदेश जारी गर्यो। तनावकै कारण सिमराका सबै हवाई उडान रद्द भए र पोखरेल–बस्नेत काठमाडौंमै फर्किए। कर्फ्यु भइरहे पनि जेन–जी युवाहरू दिनभर सडकमा उत्रिए। बिहीबार बिहान १० बजे जेन–जी युवामाथि आक्रमण गरेको आरोपमा एमाले कार्यकर्तालाई प्रहरीमा उपस्थित गराउने प्रतिवद्धता आएपछि मात्रै उनीहरूले साँझ ६:३० बजे प्रदर्शन स्थगित गरे।
जेन–जी संयोजक उपाध्यायका अनुसार उनीहरूको शान्तिपूर्ण विरोधमा एमाले कार्यकर्ताले आक्रमण गरी ५ जना घाइते पारे। उनले दोषीलाई कारबाही नगरे आन्दोलन कडा हुने चेतावनी दिए। एमाले नेता त्रिलोकविक्रम शाहले भने नेताहरूको स्वागतमा भेला भएका कार्यकर्तासँग विचार–भिन्न समूहको विवादले अवस्था बिग्रिएको बताए। लोकतन्त्रमा विरोध मान्य भए पनि "नेतालाई कार्यक्रममै जान नदिने" अभ्यास अस्वीकार्य भएको उनको भनाइ छ।
बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले झडपपछि मानवीय र भौतिक क्षति रोक्न कर्फ्यु लगाइएको बताए। केही प्रहरी पनि ढुंगाबाट घाइते भएको उनको भनाइ छ।
यता, सिमराको तनावका बीच पनि परवानीपुरमा युवा संघ नेपालको प्रदेशस्तरीय जागरण सभा भने हजारौंको उपस्थिति बीच सम्पन्न भयो। संघका केन्द्रीय सचिव मोबिन आलमका अनुसार जेन–जीका नाममा केही समूहले कार्यक्रम बिथोल्न खोजे पनि सभा भव्य रूपमा सफल भयो।