काठमाडौँ, कात्तिक १३ – अब नेपालका यात्रुहरूका लागि विमानस्थलमा इन्टरनेट प्रयोग गर्न वाइफाई कार्ड वा मोबाइल डाटा खर्च गर्नुपर्ने छैन। नेपाल टेलिकमले देशका सबै अन्तर्राष्ट्रिय र आन्तरिक विमानस्थलमा निःशुल्क वाइफाई सेवा उपलब्ध गराउने घोषणा गरेको छ।
कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत मङ्गलबारदेखि यो सेवा सुरु गरेको हो। पहिलो चरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल क्षेत्रमा निःशुल्क वाइफाई सेवा प्रारम्भ गरिएको छ।
नेपाल टेलिकमका अनुसार यो सुविधा विमानस्थलको आगमन, प्रस्थान, विशिष्ट कक्ष (VIP Lounge) र प्रतीक्षालय क्षेत्रमा उपलब्ध हुनेछ। यात्रुहरूले आफ्नो मोबाइल वा ल्यापटपमार्फत सहज रूपमा इन्टरनेट प्रयोग गर्न सक्नेछन्।
यो परियोजनाअन्तर्गत कम्पनीका प्रबन्ध निर्देशक सविना मास्के र विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेबीच सेवा सञ्चालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
सम्झौता अनुसार नेपाल टेलिकमले अब देशभर सञ्चालनमा रहेका ३ वटा अन्तर्राष्ट्रिय र ३४ वटा आन्तरिक विमानस्थलहरूमा पनि क्रमशः निःशुल्क इन्टरनेट सेवा विस्तार गर्ने तयारी गरेको छ।
यो अभियानले यात्रुहरूलाई आधुनिक र सहज सेवा उपलब्ध गराउने मात्र होइन, डिजिटल नेपाल अभियानलाई सुदृढ बनाउने सरकारको प्रयासमा पनि सहयोग पुर्याउने अपेक्षा गरिएको छ।