Logout

वैदेशिक रोजगार विभागको सर्भर डाउन: श्रम स्वीकृतिमा अनलाइन सेवा अवरुद्ध

1.1k Shares

वैदेशिक रोजगार विभागको वेबसाइट र सर्भर (फेमिस सिस्टम) मा समस्या उत्पन्न भएपछि विभागका अनलाइन सेवाहरू प्रभावित भएका छन्। विभागका अनुसार दसैँ बिदा सकिएपछि एक्कासि अत्यधिक आवेदन बढ्दा सर्भरमा असामान्य चाप परेको र प्रणाली डाउन भएको हो। हाल दसैँ र तिहार बिदापछि पुनः वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिन आउनेहरूको भीडले प्रणालीमा अतिरिक्त दबाब सिर्जना गरेको छ।

 

विभागका महानिर्देशक कमलप्रसाद भट्टराईका अनुसार पछिल्ला दुई–तीन दिनदेखि सर्भरमा लगातार समस्या आइरहेको र समाधानका लागि प्राविधिक टोलीले मङ्गलबार बिहानदेखि काम गरिरहेको जानकारी दिनुभयो। उहाँका भनाइमा, वेबसाइटको “स्पेसल सर्टिफिकेट एक्सपायर” भएको कारण पनि समस्या देखिएको बताइएको छ।

 

भट्टराईले ताहचलस्थित केन्द्रीय कार्यालयको सेवा सुस्त गतिमा चलेको भए पनि विभाग अन्तर्गतका प्रदेशस्तरका श्रम कार्यालयहरूमा सेवा तीन दिनदेखि नै प्रभावित रहेको जानकारी दिनुभयो। उहाँका अनुसार, वेबसाइट सुधारको काम जारी रहेको र बुधबार बिहानदेखि साइट सञ्चालनमा आउन सक्ने अनुमान गरिएको छ। तर सर्भर पूर्ण रूपमा सुचारु हुन केही समय लाग्न सक्ने बताइएको छ।

 

सर्भर बन्द हुँदा अनलाइनमार्फत श्रम स्वीकृतिका लागि आवेदन दिने सेवाग्राहीहरू समस्यामा परेका छन्। यद्यपि विभागका अनुसार आन्तरिक कामकाज भने सर्भरमार्फत जारी छ। विभागले मङ्गलबार राति वा बुधबार बिहानदेखि पुनः आवेदन दिन सकिने अनुमान गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार