दक्षिण कोरियाको गुप्तचर निकाय नेशनल इन्टेलिजेन्स सर्भिस (एनआइएस) ले युक्रेनसँगको युद्धमा रुसलाई सहयोग गर्न पठाइएका करिब २,००० उत्तर कोरियाली सैनिक मारिएको अनुमान गरेको छ।
एनआइएसले गत अप्रिलमा ‘युद्धमा मारिएका सैनिकहरूको सङ्ख्या कम्तीमा ६०० थियो’ भन्ने तथ्याङ्क सार्वजनिक गरेको थियो। तर ताजा मूल्याङ्कनअनुसार मृतकको सङ्ख्या करिब २,००० पुगेको सांसद ली सेओङ–क्वेनले मंगलबार पत्रकारहरूसँग बताएका छन्।
दक्षिण कोरिया र पश्चिमी गुप्तचर निकायका अनुसार उत्तर कोरियाले २०२४ मा १० हजारभन्दा बढी सैनिक रुसमा पठाएको छ। तीमध्ये धेरैजसो कुर्स्क क्षेत्रमा तैनाथ गरिएका थिए, जहाँ उनीहरूले तोपगोला, क्षेप्यास्त्र र लामो दूरीका रकेट प्रणाली प्रयोग गरेका थिए।
सांसद लीका अनुसार प्योङयाङले थप करिब ६,००० सैनिक र इन्जिनियर पठाउने योजना बनाएको छ। तीमध्ये करिब १,००० हालै रुस प्रवेश गरिसकेको विश्वास गरिएको छ। यसैवर्ष रुसका विदेशमन्त्री सर्गेइ लाभरोभले पनि उत्तर कोरियाले कुर्स्क क्षेत्रमा निर्माणकर्ता तथा विस्फोटक हटाउने प्राविधिकहरू पठाउने बताएका थिए।
उत्तर कोरियाले यस वर्ष अप्रिलमा मात्रै आफ्ना केही सैनिकहरू युद्धमा मारिएको स्वीकार गरेको थियो। त्यसयता नेता किम जोङ उन ले लडाइँमा संलग्न सैनिकका परिवारलाई समवेदना प्रकट गर्दै फर्किएका सैनिकलाई स्वागत गरेको तस्बिरहरू राज्य सञ्चालित मिडियामा प्रकाशित भएका छन्।
गत वर्ष भ्लादिमिर पुटिनको दुर्लभ उत्तर कोरिया भ्रमणका क्रममा दुबै देशबीच आपसी रक्षा खण्डसहितको सैन्य सहयोग सम्झौतामा हस्ताक्षर भएको थियो।