Logout

मोदीको रूस–चीन नजिक्याइँबारे ट्रम्पका सल्लाहकार नवारोको आपत्ति

4.1k Shares

ट्रम्पका व्यापार सल्लाहकार पीटर नवारोले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको रूस र चीनसँग बढ्दो सम्बन्धप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

नवारोले भनेका छन्, “मोदीको सी जिनपिङ र भ्लादिमिर पुटिनसँग उभिनु लज्जास्पद छ। थाहा छैन उनी के सोचिरहेका छन्। हामीलाई आशा छ, उनी बुझ्नेछन् कि उनी रूसको सट्टा अमेरिकाको पक्षमा हुनुपर्छ।”

उनले भारतलाई ‘रूसको वाशिङ मेसिन’ को संज्ञा दिँदै आरोप लगाए कि भारतले रूसबाट सस्तो तेल किनेर नाफाखोरी गरिरहेको छ, जसले युक्रेनमाथिको आक्रमणलाई सहयोग पुर्‍याइरहेको छ। नवारोका अनुसार, यसले सबैभन्दा ठूलो भार भारतीय आमजनताले व्यहोर्नुपरेको छ।

ब्लूमबर्ग टिभीसँगको अन्तर्वार्तामा नवारोले रूस–युक्रेन युद्धलाई ‘मोदी वार’ भनेका थिए। उनका अनुसार भारतले रूसबाट तेल किन्ने काम रोके अमेरिका भारतमाथि लगाएको २५ प्रतिशत भन्सार शुल्क हटाउन तत्पर छ।

को हुन् पीटर नवारो?

नवारो पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका नजिकका सल्लाहकार हुन्। ट्रम्पको अघिल्लो कार्यकालमा उनले व्यापार नीति निर्माणमा महत्वपूर्ण भूमिका खेलेका थिए।

  • सन् २०१६ मा ट्रम्पसँग जोडिनुअघि उनी लामो समय डेमोक्र्याटिक पार्टीतर्फ नीति निर्माणमा सक्रिय थिए।

  • एक समय भूमण्डलीकरण र खुला व्यापारका समर्थक रहेका नवारो ट्रम्पसँग नजिकिएपछि त्यसको आलोचक बने।

  • उनको विश्वासमा चीनलाई विश्व व्यापार संगठनमा प्रवेश दिनु अमेरिकाका लागि ‘संकटको सुरुवात’ थियो।

  • उनी ट्रम्पलाई मात्र अमेरिकालाई पुरानो औद्योगिक शक्ति बनाउन सक्ने नेता ठान्छन्।

अमेरिकी वित्तमन्त्रीको प्रतिक्रिया

यसैबीच, अमेरिकी वित्तमन्त्री स्कट बेसन्टले पनि भारतको तेल खरिदबारे प्रश्न उठाउँदै भनेका छन्, “यसले मस्कोको युद्ध मेसिनलाई बल पुर्‍याइरहेको छ।” उनले भारतलाई ‘खराब खेलाडी’ को संज्ञा दिँदै हालैको एससीओ बैठकलाई ‘देखावटी’ मात्र भएको टिप्पणी गरे।

बेसन्टले भनेका छन्, “अमेरिका र भारत दुवै बलिया लोकतन्त्र हुन्, र मतभेद समाधान गर्न सक्छन्।”

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार