गाजापट्टिको दक्षिणी क्षेत्रमा इजरायली सेनाले गरेको आक्रमणमा परी सोमबार ४ पत्रकारसहित कम्तीमा १५ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
बीबीसीका अनुसार इजरायली सेनाले दक्षिण गाजास्थित नासेर अस्पताललाई निसाना बनाएको हो। उक्त आक्रमणमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका लागि काम गर्दै आएका पत्रकारहरू मारिएका छन्।
समाचार संस्था रोयटर्सले आफ्ना क्यामेरा पर्सन हुसाम अल–मसरीको मृत्यु भएको पुष्टि गरेको छ। साथै, अल जजिराका मोहम्मद सलामेह, एसोसिएट प्रेस (एपी) की मरियम अबू दका, र अमेरिकी टेलिभिजन एनबीसीका फोटोग्राफर मुआथ अबू ताहा पनि मारिएका छन्।
हमाससम्बद्ध नागरिक सुरक्षा समितिका अनुसार सुरुवाती आक्रमणमा धेरै मानिस मारिएका थिए। त्यसपछि उद्धारका लागि पुगेको टोलीमाथि दोहोरिएको आक्रमण हुँदा थप व्यक्तिको ज्यान गएको हो।
घटनापछि सार्वजनिक भएका भिडियोमा नासेर अस्पताल वरिपरिको क्षेत्रमा बाक्लो धुँवा उडिरहेको देखिन्छ। तर, इजरायली सेना र प्रधानमन्त्री कार्यालयले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन्।
यसअघि पनि गाजा सिटीस्थित अल–शिफा अस्पताल नजिकै गरिएको आक्रमणमा ६ पत्रकारको ज्यान गएको थियो, जसमा ४ जना अल जजिरासँग आवद्ध थिए।
संयुक्त राष्ट्र मानवअधिकार कार्यालयले ताजा आक्रमणलाई अन्तर्राष्ट्रिय कानूनको गम्भीर उल्लंघन भन्दै निन्दा गरेको छ। पत्रकारहरूको संरक्षणमा काम गर्दै आएको संस्था सीपीजेले इजरायलले पत्रकारहरूलाई हमाससँग जोडेको आरोपमा कुनै ठोस प्रमाण प्रस्तुत गर्न नसकेको जनाएको छ।