जिल्ला स्वास्थ्य सङ्कट व्यवस्थापन समितिको आइतबार बसेको बैठकले महामारीको समयमा स्वास्थ्य जनशक्ति अभाव हुन नदिन स्वास्थ्यकर्मीलाई अत्यावश्यक बाहेकका बिदा स्वीकृत नगर्ने निर्णय गरेको छ।
निमित्त प्रमुख जिल्ला अधिकारी कार्कीका अनुसार झाडापखाला र हैजा रोकथामका लागि सबै निकायसँग समन्वय गर्दै आवश्यक सामग्री व्यवस्थापन, माइकिङ, घरदैलो कार्यक्रम र जनचेतना अभिवृद्धि अभियान तत्कालै सञ्चालन गर्ने सहमति भएको छ।
बैठकले संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने थप जनशक्ति र स्रोत साधनलाई ‘पुल’ खडा गरी जिल्ला स्वास्थ्य सङ्कट व्यवस्थापन समितिमार्फत वितरण, व्यवस्थापन र अनुगमन गर्ने निर्णय पनि गरेको छ।
त्यस्तै, फैलिरहेको महामारीको संक्रमण स्रोत पत्ता लगाउन आवश्यक अनुसन्धान सम्बन्धित स्थानीय तहले गर्ने र त्यसका लागि आवश्यक प्राविधिक सहयोग प्रदेश तथा संघीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्ने निर्णय गरिएको जनाइएको छ।