अमेरिकाका उपराष्ट्रपति जे.डी. भेन्सले भारतमाथि लगाइएको भन्सार शुल्क केवल बहाना भएको टिप्पणी गरेका छन्। उनले एनबीसी न्युजसँगको कुराकानीमा उक्त निर्णयको वास्तविक उद्देश्य रूसमाथि कडा आर्थिक दबाब सिर्जना गर्ने रहेको बताए।
उनका अनुसार, भारतविरुद्ध सेकेन्डरी भन्सार शुल्क लगाएर रूसलाई तेल व्यापारबाट धनी बन्न नदिने रणनीति अपनाइएको हो। उनले भने, "राष्ट्रपतिले रूसलाई युद्ध रोक्न बाध्य पार्न अभूतपूर्व आर्थिक दबाब सिर्जना गर्नुभएको छ, जुन बाइडेनले तीन वर्षमा पनि गर्न सकेनन्।"
भेन्सले थपे, राष्ट्रपति डोनाल्ड ट्रम्पको स्पष्ट नीति के हो भने रूसले युद्ध र हत्या रोक्यो भने फेरि उसलाई विश्व अर्थतन्त्रमा सहभागी गराउन सकिनेछ, तर रोक्न अस्वीकार गरेमा उसले एक्लिनुपर्नेछ।
हालै राष्ट्रपति ट्रम्पले भारतमाथि २५ प्रतिशत भन्सार शुल्क लगाएका थिए। साथै, भारतले रूसबाट तेल र हतियार खरिद गरेर अप्रत्यक्ष रूपमा युक्रेनविरुद्धको युद्धलाई सहयोग गरिरहेको भन्दै थप २५ प्रतिशत शुल्क थपिएका छन्। यो नयाँ दर अगस्ट २७ देखि लागू हुनेछ।
ट्रम्पको यस कदमले अमेरिकाभित्रै ठूलो राजनीतिक बहस सुरु भएको छ। भारतीय विदेशमन्त्री एस. जयशंकरले अमेरिकी नीतिको आलोचना गर्दै भने, "रूसी तेलको सबैभन्दा ठूलो खरिदकर्ता चीन हो, तर उसमाथि यस्तै कदम चालिएको छैन। युरोप नै सबैभन्दा धेरै रूसी एलएनजी किन्छ, तर उनीहरूलाई छुट दिइएको छ। यो पूर्णतः अन्यायपूर्ण मापदण्ड हो।"
यसैबीच, रिपब्लिकन नेतृ निक्की हेलीले अमेरिका–भारत सम्बन्ध कमजोर नबनाउने चेतावनी दिँदै चीनको सामना गर्न भारतजस्तो मित्र आवश्यक भएको टिप्पणी गरिन्। त्यस्तै, पूर्व विदेश मन्त्री जोन केरी र पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकारले समेत भारतमाथिको भन्सार शुल्कको विरोध गरेका छन्।