Logout

गाजाका बालबालिकाको दुर्दशाबारे मेलानिया ट्रम्पलाई टर्कीकी प्रथम महिलाको पत्र

4k Shares

टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानकी पत्नी तथा देशकी प्रथम महिला एमिन एर्दोगानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी पत्नी मेलानिया ट्रम्पलाई पत्र लेखेकी छिन् । उक्त पत्रमा उनले मेलानियालाई इजरायली प्रधानमन्त्री बिन्यामिन नेतन्याहूसँग सम्पर्क गरी गाजामा रहेका बालबालिकाको पीडाबारे आवाज उठाउन आग्रह गरेकी छन् ।

अंकारास्थित अधिकारीहरूले शनिबार पत्रबारे जानकारी दिएका बीबीसीले उल्लेख गरेको छ । एमिन एर्दोगानले मेलानिया ट्रम्पले यसै महिनाको सुरुवातमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेन र रसियाका बालबालिकाबारे पठाएको पत्रबाट आफूलाई प्रेरणा प्राप्त भएको बताएकी छन् ।

उनले भनिन्, “मलाई विश्वास छ, तपाईंले ६४८ युक्रेनी बालबालिकाको लागि देखाउनुभएको संवेदनशीलता गाजाका लागि पनि देखाउनुहुनेछ।”

राष्ट्रपति कार्यालयमार्फत सार्वजनिक गरिएको पत्रबारे हालसम्म ह्वाइट हाउसले कुनै प्रतिक्रिया दिएको छैन । एमिनले थप लेखेकी छन्, “आज विश्व सामूहिक चेतनामा छ, प्यालेस्टाइनको मान्यता विश्वव्यापी चाहना बनेको छ । गाजाको पक्षमा तपाईंको आह्वानले प्यालेस्टिनी जनताप्रति ऐतिहासिक जिम्मेवारी पूरा गर्नेछ।”

यसबीच, एक अन्तर्राष्ट्रिय भोकमरी निगरानी संस्थाले गाजा सिटी र आसपासका क्षेत्र भोकमरीको चपेटामा परेका र मृत्युदर ह्वात्तै बढेको जनाएको छ । तर, इजरायली प्रधानमन्त्री नेतन्याहूले उक्त रिपोर्टलाई ‘पूर्णरूपमा झूट’ भन्दै खारेज गरेका छन् ।

७ अक्टोबर २०२३ मा सुरु भएको यस युद्धपछि हालसम्म गाजामा ६२ हजार भन्दा बढी फिलिस्तीनीको ज्यान गएको गाजाका स्वास्थ्य अधिकारीहरूले दाबी गरेका छन्, जसमा अधिकांश महिला र बालबालिका रहेका छन् ।

संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेरेसले गाजामा फैलिएको भोकमरीलाई ‘मानवताको असफलता’ र ‘मानवद्वारा सिर्जित विपत्ति’ भन्दै आलोचना गरेका छन् । उनले खाद्य असुरक्षाको स्तर पाँचौँ चरणमा पुगेको उल्लेख गर्दै यसलाई सबैभन्दा गम्भीर अवस्था भनेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार