Logout

नेपाल भ्रमणमा भियतनामकी उपराष्ट्रपति, उच्चस्तरीय भेटवार्ता जारी

4.2k Shares

नेपाल भ्रमणमा रहेकी भियतनामकी उपराष्ट्रपति भो थी आन सुआनले आज पनि उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । उनले उपराष्ट्रपति रामसहाय प्रसाद यादव र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नेछिन् । सो अवसरमा दुई देशबीच आपसी सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उपराष्ट्रपति सुआन नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ वार्षिकोत्सव समारोहमा समेत सहभागी हुने कार्यक्रम छ । उनी उपराष्ट्रपति यादवको औपचारिक निमन्त्रणामा शनिबार नेपाल आएकी थिइन् । भियतनामबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।

नेपाल आइपुगेको दिन उनले परराष्ट्रमन्त्री आरजु राणा देउवासँग पनि भेटवार्ता गरेकी थिइन् । मन्त्री राणाले भियतनामबाट पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा सीधा उडान सुरु गर्न प्रस्ताव राखेकी थिइन् । यसो हुन सके भियतनामबाट नेपाल आउने पर्यटकको संख्या वृद्धि हुने विश्वास गरिएको छ ।

यो प्रस्तावबारे विस्तृत छलफल आज उपराष्ट्रपति यादव र प्रधानमन्त्री ओलीसँगको भेटमा हुने बताइएको छ । उपराष्ट्रपति सुआनले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्ने र पाटन दरबार स्क्वायर, स्वयंभूनाथ स्तूप लगायतका धार्मिक तथा ऐतिहासिक स्थल भ्रमण गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि उनी स्वदेश फर्किनेछिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार